काठमाडौं, माघ २१ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध बनाएर लैजाने सहमति जुटेको छ । केन्द्रीय कमिटी बैठकपछि सोमवार भएको चार घन्टा लामो छलफलमा यस्तो सहमति बनेको हो ।
प्रधानमन्त्री ओलीको निमन्त्रणमा भएको छलफलमा दुवै नेताले आगामी दिनमा पार्टीलाई कसरी एकढिक्का राख्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो । केन्द्रीय कमिटी बैठकअघि बरिष्ठ नेता झलनाथ खनालसँग लामो बार्ता गर्नुभएका प्रधानमन्त्री ओलीले बैठकपछि अर्का बरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको हो । यसअघि गत कात्तिक २७ गते प्रधानमन्त्री ओलीले नेता नेपालसँग लामो छलफल गर्नुभएको थियो ।
दुई नेताबीच पार्टी र सरकार सञ्चालन तथा केन्द्रीय कमिटी बैठकको समीक्षामा केन्द्रित रहेर छलफल भएको छ । ‘प्रधानमन्त्री ओलीले नेताहरुसँग सम्वाद गरिरहनुभएको छ, उहाँहरूबीच निरन्तर छलफल र संवाद चल्दै आएको छ, पार्टीभित्रका समकालीन नेता भएकाले उहाँहरूबीच लामै छलफल हुने गरेको छ,’ ओली नेपालको भेटबारे नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल भन्नुहुन्छ, ‘सोमबार पनि लामै छलफल भएको छ ।’
रिमालका अनुसार प्रधानमन्त्री ओलीले आवश्यकताअनुसार सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्दै आउनुभएको छ र आगामी दिनमा पनि छलफल गर्दै जानुहुनेछ । प्रधानमन्त्री ओलीले माघ ८ गते अर्का वरिष्ठ नेता खनालसँग पनि लामो छलफल गर्नुभएको थियो । नेपालनिकट नेताहरुले पछिल्लो छलफल निकै फलदायी बनेको बताएका छन । छलफलमा दुई नेताबीच पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने र आपसी विश्वासको वातावरण बनाउँदै अघि बढ्ने विषयमा समझदारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्