जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार १७:४३

जनार्दन शर्माको नाममा आएको त्यो समाचार पढेपछि…


सायद प्रधानमन्त्री ओलीलाई ठोक्ने यही मौका हो भन्दै प्रधान सम्पादकले हेडलाइन बनाइ दिनुभएछ, तथ्यभन्दा ठीक बिपरित । यति पढेपछि सम्पादकलाई घटनाको प्रत्यक्षदर्सी पाठक बनेर सोध्न मन लाग्यो, ‘तपाईको मिडियाको समाचारलाई कसरी बिश्वास गरौं ?’

गणेश बस्नेत

‘मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर भनेको छु– प्रधानमन्त्रीज्यू तपाईले अहिले सफलता र असफलताको कुरा नगर्नुस, अहिले जे काम अगाडि बढेको छ । त्यसलाई गति दिनुस, रफ्तारमा अगाडि लैजानुस । यसको मूल्यांकन त आगामी निर्वाचनमा हुनेछ । तपाईले नेतृत्व गरेको यो कामलाई दृढतापूर्वक अगाडि बढाउनुस, तीव्रतामा अगाडि बढनोस । भ्रष्ट्राचारको अत्य गर्नुस, सुशासनको स्थापना गर्नुस ।’ प्रेस संगठन नेपाल कर्णाली प्रदेशले फागुन ४ गते आफ्नो गृहजिल्ला रुकुमको चौरजहारीमा आयोजना गरेको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले ब्यक्त गर्नुभएको बिचार हो यो ।

कार्यक्रममा निकै ढिला गरी आउनु भएका नेकपा कर्णाली प्रदेशका इञ्चार्जसमेत रहनुभएका नेता शर्माले आफ्नो मन्तब्य राखिरँहदा निकै उत्सुकतापुर्वक मञ्चबाटै सुनिरहेको थिए म । आफ्नै गृहजिल्लामा आफैमाथि प्रश्न तेस्र्याउँदै एकताबिरोधीको आरोप लागेपछि आक्रोशित मुद्रामा आउनुभएका शर्मा मञ्चमा पुग्नसाथ प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमसँग निकै रिसाउनु भयो । ‘मलाई एकताबिरोधी भन्ने ?, मै होइन यो पार्टी एकता गराउने ? यहाँ आएर भाँडने ?’ गौतमले झण्डै १० मिनेट लगाएर उहाँको रिसको पारो घटाउनु भयो । यो दृष्यको प्रत्यक्ष साँक्षी भएको कारण हामी सवैलाई शर्माको सम्बोधनले ध्यान खिच्नु स्वभाविक थियो ।

गृहजिल्लामा सांसदले गर्नुपर्ने दौडधुपकै कारण दिएको समयभन्दा निकै ढिला कार्यक्रममा नआइपुगेपछि नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले ब्यंग्य गर्दै भन्नुभएको थियो, ‘यति लामो समय भयो, अझै प्रमुख अतिथिको अत्तोपत्तो छैन, हामी काम नपाएर राती २ बजेसम्म हिडेर यहाँ आएको होइन, प्रमुख अतिथि नआउने हो भने तपाईहरुले पक्कै उपहार दिनुहुन्छ होला, उपहार दिन तयार पारेको त्यही सिलौटा (चौरजहारीको प्रख्यात उत्पादन) लाई प्रमुख अथिति बनाउनोस ।’ थापाको यो शब्दले शर्मालाई निकै बिझाएछ । रिसाउँदै मञ्चमा पुगेर इञ्चार्ज गौतममाथि खनिनुभएको थियो ।

संगठनका केन्द्रीय संयोजक महेश्वर दाहाल कार्यक्रमको सुरुमै आफ्नो कुरा राखी कार्यक्रमस्थलबाट हिडिसक्नुभएकोले गेटमै स्वागत गर्न म स्वयं पुगेको थिएँ, तर शर्माले मलाई पनि सूर्य थापा नै देख्नुभएछ क्यारे, यसो हात मिलाएर अनुहार पनि नहेरी मञ्चमा जानुभयो र इञ्चार्जमाथि खनिनुभयो । यो दृष्यले केही असहज महसुस भइरहेको थियो । संगठनको संजोजक हिडिसकेको कारण मैले परिस्थितिलाई सामान्य पार्नुथियो । रिसालु स्वभावका शर्माले आज के भन्ने हुन ? कतै कार्यक्रम नै एकता होइन, फुटको बिन्दु त बन्दैन भन्ने आशंकाले सताइरह्यो शर्माका सम्बोधन अवधीभर । त्यसैले शर्मा बोलिरहँदा एक सेकेन्ड पनि ध्यान अन्यत्र गएन । उहाँले पार्टी एकतामा आफूले निर्वाह गरेको भुमिकादेखि आफ्नो जिल्लामा ‘महान जनयुद्धको २५औं बर्षगाँठ’ मनाउने एकल ब्यानरको बिषयमा लामो ब्याख्या गर्नुभयो । नेकपाको राजनीतिक दस्तावेजको एक हरफ पढेरै सुनाउनु भयो, जनयुद्धको बिषयमा ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड मिलाउन आफूले गरेको कामको ब्याख्या गर्नुभयो । दुई अध्यक्षबीच बोलचाल बन्द हुँदा आफूले नै कुरा गरेर एकतासम्म पुर्याएको भन्दै एकताको पक्षमा दृढतापुर्वक उभिएको दावा पेश गर्नुभयो । साथसाथै हालका दुई अध्यक्ष ओली र प्रचण्डलाई फुटाउन दुवै खेमा (तात्कालिन नेकपा एमाले र माओवादी केन्द्र) तिरका निकट भनिनेहरु नै लागेको भन्दै एकताबिरोधी हर्कत मुर्दावाद भन्दै नारा लगाउनु भयो । आफ्नो समबोधनको अन्तिमतिर कम्युनिष्ट पार्टीको सरकार आएपनि दलाल र माफियाको घेरा अझै पूरै हटिनसकेको र बर्तमान सरकारले तोडन प्रयाश परेपनि सम्पुर्ण रुपमा तोडिन बाँकी रहेको आफ्नो निश्कर्ष सुनाउनु भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहनुभएका नेता सूर्य थापाले केन्द्रमा एउटा, जिल्लामा अर्कै ब्यानर प्रयोग भएकोमा आपत्ति जनाउँदै ‘यो पार्टी बिधिले चल्छ कि आदेशको भरमा चल्छ भन्दै मञ्चबाटै प्रश्न तेस्र्याउनु भएको थियो ।

शर्माले यो कुरा सुनेकै कारण पार्टीको दस्तावेजसम्म राखेर रुकुममा राखिएको ब्यानर ‘महान जनयुद्धको २५ औं बर्षगाँठ भन्ने ब्यानरबारे सबिस्तार चर्चा गर्नुभएको थियो । अन्तिममा रुकुम दुई बर्षदेखि सून्य बजेटमा बिकाश हाँकिरहेको भन्दै कर्णालीको आजाव काठमाडौंमा सुनाउनु पर्ने भन्दै त्यसैअनुसार कर्णाली प्रदेशका पत्रकारले भुमिका खेल्नुपर्ने बताउनु भयो । दुई नेताले सार्वजनिक मञ्चबाट गरेको यो सवाल जवाफले कतै संगठनलाई घाटा त हुन्न भन्ने सोच्दै थिएँ, बेलुका पाँच बजेतिर समाचारको एउटा लिंक फेसबुकको म्यासेञ्जरमा आयो ।नयाँपत्रिका दैनिकको अनलाइन एडिशन थियो । जस्को हेडलाइन थियो, ‘नेता शर्मा भन्छन् : सरकार दलाल र माफियाको घेरावन्दीमा छ ।’

हेडिङ देखेपछि लाग्यो, कति चाँडो अर्काे कार्यक्रममा पुगेर बुढाले आक्रोश पोखेछन । मोवाइलमा डाटाले काम गरिरहेको थिएन, केहीबेरसम्म खुलेन । बाटो लागेपछि जाजरकोटबाट सल्यानतिर पुग्नै लाग्दा खुल्यो । समाचारको लिंक खोलेर हेरें, शर्माको त्यो भनाइ त म आफै साँक्षी रहेको त्यही प्रेस संगठन नेपालको कार्यक्रममै भनेको भन्दै छापिएको समाचार पो रहेछ । पढेपछि आफै चकित परें । मनमनै प्रश्न आयो, ‘पत्रकारितामा यति धेरै निकृष्ट काम पनि हुन्छ र ? तर मिसन चलाउनेहरुका लागि हुँदोरहेछ भन्ने प्रमाण त्यही समाचार थियो ।

पढनोस जनार्दन शर्माको भनाई

घेरावन्दीबाट बच्नुपर्छ बालुवाटार–खुमलटार

कार्यक्रममा भएको थियो एउटा घटना, बक्ताले बोलेका थिए एउटा कुरा, समाचारमा हेडलाइन बनेर आयो हुँदैनभएको अर्कै कुरा । अर्थात प्रकाशक र प्रधान सम्पादकको कुण्ठा । समाचार पुरै पढें, जम्मा ८० शब्दको थियो । त्यही समाचारमा हेडलाइन पुष्टि हुने कुनै शब्द थिएन, शर्माको कोड पनि थिएन । सायद प्रधानमन्त्री ओलीलाई ठोक्ने यही मौका हो भन्दै प्रधान सम्पादकले हेडलाइन बनाइ दिनुभएछ, तथ्यभन्दा ठीक बिपरित । यति पढेपछि सम्पादकलाई घटनाको प्रत्यक्षदर्सी पाठक बनेर सोध्न मन लाग्यो, ‘तपाईको मिडियाको समाचारलाई कसरी बिश्वास गरौं ?’