काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलवार साझ जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । उहाँका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्