काठमाडौं, चैत २५
नेपाल वायुसेवा निगमको बाइडबडीबाट केही समय अगाडी ल्याएको स्वास्थ्य सामाग्री कालो बजारी गरेको आरोपमा एक व्यापारी प्रक्राउ परेका छन् । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको जानकारी दिएको छ । गत शुक्रबार चीनको ग्वाङ्जाओबाट केही व्यापारीक समुह मिलेर स्वास्थ्य सामग्री किनेर ल्याएका थिए । त्यसमध्ये चौधरी ग्रुप र नर्भिक अस्पतालले केही सामान सरकारलाई उपलब्ध गराए । सोही समुहमा शंकर ग्रुपले पनि सामान ल्याएको थियो ।
सो सामानमा ज्वरो नाप्न प्रयोग हुने इन्फ्रारेड थर्मल गन पनि थियो । अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ । अहिले हामी बैंक, विभिन्न व्यापारीक स्थल र सरकारी कार्यालयमा जाँदा यस्ता गन प्रयोग भएको देख्छौं । अग्रवालले केही दिनदेखी सो गन बेचिरहेको सूचना प्रहरीले पाएको थियो । बजारमा तीन हजारदेखी अहिले मुल्यवृद्धि भएर ५ हजारसम्म विक्रि हुने गरेको छ । तर, महामारीको संकटमा अग्रवालले १६ हजार रुपैयाँसम्ममा विक्रि गरेको सूचना आएको थियो ।
सूचना आउने वित्तिकै पक्राउ गर्ने अवस्था प्रहरीसँग थिएन । त्यसपछि प्रहरीले नै उनिसँग व्यापारीको नाटक गरी खरिद गर्ने गरी फोन गर्यो । कुराकानी भएपछि उनि १६ हजार रुपैयाँ प्रतिथान विक्रि गर्न राजी भएको प्रहरीको दावी छ । सोही अनुसार उनलाई नक्साल बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । २०९ एचसीसी १ नम्बरको कुटनीतिक गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेर पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ५ हजारमा पाइने उपकरण १५ हजारमा बिक्रि गरेको आरोपमा नक्सालबाट पक्राउ गरिएको जानकारी दिनुभयो । अग्रवालको साथबाट ६६ थान थर्मल गन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट बरामद भएको कुटनीतिक गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । किर्गिस्तानको अवैतनिक राजदूत रहेको बताएका अग्रवालले सोहि हैसियतमा कूटनीतिक सुविधामा पाउने गाडी प्रयोग गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्