काठमाडौं, जेठ १३
काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाको पिसिआर परीक्षण गर्न ल्याब जडान गरिएको छ । सोमबार विहान सो मेसिन जडान गरिएपछि अब त्यहा पनि कोरोना भाइरस संक्रमणको नमुना परीक्षण शुरु गरिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना गरिएको बताउनु भयो । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाको भनाइ छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले पनि नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा बढाउनका लागिसमेत पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न आग्रह गर्नुभयो । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने भएको छ । शिक्षण अस्पतालमा ल्याब स्थापना गरिएसँगै देशभर पिसिआर परीक्षणका लागि सञ्चालन गरिएका ल्याबको संख्या १७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्