जनता टाइम्स

९ असार २०७७, मंगलवार १२:३९

सधैँभरी भारतको चंगुल र अधीनस्त बनाउने षडयन्त्र हो ? : डा. बेदुराम भुषाल, सांसद, नेकपा


काठमाडौं, असार ९

नेपाल कम्युनिष्ट पार्टीका सांसद डा. बेदुराम भुषालले नागरिकता विधेयकले कुनै पनि देशसँगको सम्बन्ध नबिग्रने स्पष्ट पार्नुभएको छ । उहाले नागरिकता विधेयक पारित गरेको विषयमा विभिन्न आरोप लगाएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

राष्ट्रिय सभा मंगलबारको बैठकको विशेष समयमा नेकपा सांसद भुसालले नेपालले संविधानअनुसार कानून बनाउँदा धम्कीको भाषा नबोल्न चेतावनी दिनुभयो । वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समयसीमा राख्ने प्रावधानसहित प्रतिनिधि सभाको समितिबाट पारित भएको नागरिकता विधेयकलाई लिएर मण्डले राष्ट्रवाद भनिएकोमा उहाले आपत्ति जनाउनु भयो ।

‘प्रतिनिधि सभाको समितिबाट पारित नागरिकता विधेयकको विषयलाई लिएर यो सभामा कुरा उठेका छन्, कतिपय अभिव्यक्ति आपत्तिजनक छन् । नेकपाप्रति इंगित गर्दै असंवैधानिक काम गरेको, परराष्ट्र सम्बन्धको जग भत्काउन खोजेको, भारतसँगको सम्बन्धमा कटअफ गरेको, चीनको झोलामा नेपाललाई लैजान लागेको भनिएको छ । मण्डले राष्ट्रवाद भन्दै राजनीतिक दुर्घटना हुने गरेर धम्कीको भाषा प्रयोग गरिएको छ,’ सांसद भुसालले भन्नुभयो, ‘मलाई लाग्छ, यो निराधार र गैर राजनीतिक तर्क र धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ, चीनको झोलामा हाल्नेजस्ता अराजनीतिक भाषा बोलिएकोमा मेरो आपत्ति छ ।’

भारतको नागरिकता कानुन पनि हेर्न उहाले सबैलाई आग्रह गर्नुभयो । “त्यहाँ पनि विदेशी नागरिकसँग विवाह गरेमा ७ वर्षपछि मात्रै नागरिकता दिने भन्ने उल्लेख छ,” उहाले भन्नुभयो, “हामीले के फरक गरेका छौं र ? उस्तै हो यसमा किन धेरै विवाद र विचार राख्नुपर्‍यो।”

‘नेपालले संविधान अनुसारको यो कानून बनाउँदा आपत्ति किन ? असंलग्न परराष्ट्र नीति लिएको नेपालको परराष्ट्र सम्बन्धको जग कसरी भत्किन्छ ?’ भुसालले भन्नुभयो, ‘नेपालले स्वतन्त्र निर्णय गर्दा भारतसँग सम्बन्ध बिग्रन्छ भनेर भन्नुलाई नेपाललाई सधैँभरी भारतको चंगुल र अधीनस्त बनाउने षडयन्त्रबाहेक के भन्ने ?’

https://www.facebook.com/jantatimes/videos/693984841441430/