काठमाडौं, असार २६
प्रदेश–५ का मुख्यमन्त्री एंव नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले पार्टी एकतालाई दुर्घटनामा पर्नबाट सबैले जोगाएको बताउनु भएको छ । राजधानीबाट आज प्रदेश–५ पुग्नु भएका उहाले सामाजिक सञ्जालबाट एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने विश्वास पलाएको बताउनु भयो ।
उहाले यस्तो कार्यमा सहयोग गर्ने र भूमिका खेल्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । नेता पोखरेलले सम्वादको प्रक्रिया नै एकतालाई बचाई राख्ने कुरा भएकाले सोही प्रक्रियालाई अघि बढाउन भूमिका खेल्ने सबै धन्यवादको पात्र भएको बताउनु भयो ।
यस्तो छ उहाको पछिल्लो टिप्पणी
पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।
पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।
नेपालभारत बीचको सिमाविवाद समाधान गर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ । यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो । छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ ।
यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौ ।
वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुदैन ।
प्रतिक्रिया दिनुहोस्