जनता टाइम्स

३ असार २०८२, मंगलवार ११:५२

बेलायतको लिभरपुल फुटबल क्लबमा देखियो एमाले महासचिव शंकर पोखरेलको अर्कै स्वरुप (फोटोफिचर)


लिभरपुल (बेलायत), असार ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको बारेमा धेरैलाई भ्रम छ, उहाँ रोमान्स गर्नुहुन्न । वैचारिक नेताका रूपमा परिचित शंकर व्यवहारमा त्यत्ति खुल्नुहुन्न, कार्यकर्ताबीच घुलमिल हुन अलि चाहनुहुन्न भन्ने आमकार्यकर्ता पङ्तीको गुनासो छ ।

तर बेलायतको चर्चित फुटबल क्लब लिभरपुलमा उहाँले आफूलाई यस्तो भन्ने नेता कार्यकर्ताहरूलाई गलत साबित गरिदिनु भएको छ । प्रवासी नेपाली मञ्च बेलायतको राष्ट्रिय अधिवेशनका लागि पत्नी तथा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र युरोप इञ्चार्ज रहनुभएका दाङकै नेता तथा केन्द्रीय सदस्य घनश्याम पाण्डेसहित लण्डन आइपुग्नुभएका एमाले महासचिव शंकर पोखरेल लिभरपुल फुटबल क्लबमा निकै खुलेर प्रस्तुत हुनुभयो ।

महासचिव पोखरेल दुई हात उठाएर जब फोटो खिच्नेमुडमा प्रस्तुत हुनुभयो, उपस्थित सबै छक्क परे अनि धमाधम त्यो दृश्य कैद गर्न थाले । महासचिव पोखरेल पनि पत्नी सुजितासहित लगातार पोज दिइरहनु भयो । लिभरपुलमा देखिएको यो दृश्य एमाले एमाले महासचिव पोखरेलको यसअघिको भन्दा बिलकुलै फरक थियो । जसले शंकर रमाइलो गर्न जान्नुहुन्न भन्ने भाष्यलाई बदलिदिएको छ ।

अमेरिकामा रहँदै आउनुभएका प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य प्रभु थापासहित बेलायत र युरोपका प्रवासी नेताहरूसँग महासचिव पोखरेलले आफ्नो अहिलेसम्मको रमाइलो गर्नै जान्दैनन् भन्ने भाष्य गलत रहेको व्यवहारबाट देखाउनु भयो । अनेरास्ववियूका पूर्वउपाध्यक्षसमेत रहनुभएका बेलायत निवासी डा. भक्त गुरुङले महासचिव पोखरेललाई रमाइलो गर्न बाध्य पार्नुभएको हो ।

लिभरपुल भ्रमणको क्रममा ओएनएफका निवर्तमान अध्यक्ष एवं सल्लाहकार परिषद् सभापति गुरुङ र बेलायत इञ्चार्ज सरस्वती केसीले यो घुमघामको व्यवस्था मिलाउनु भएको थियो । सो क्रममा बेलायतमा रहेका सबैजसो प्रवासी नेताहरू महासचिवको भ्रमण दलमा सहभागी हुनुहुन्छ ।

सोही क्रममा लिभरपुलमा हाम्रो महासचिवको रोमान्सको फोटो छँदै छैन, एक पटक जावस् त भन्दै गुरुङले उत्प्रेरित गरेपछि महासचिव पोखरेल फुटबल क्लबको सालिक अगाडि श्रीमती सुजितालाई राखेर एकाएक दुई हात उठाउनु भएको थियो । सो तस्बिरलाई उपस्थित सबैले खुब रमाइलो मानेर कैद गरेका हुन ।