जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १४:५७

गाउँपालिका अध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार


बिराटनगर, साउन २ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यकक्षमै खुकुरी प्रहार भएको छ । पटके करको ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले कार्यकक्षमै अध्यक्ष कार्कीमाथि आज खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएका कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर भर्ना गरिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिसकेको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले कार्कीलाई चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्न ठकुरीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७६–०७७ असार मसान्तसम्मका पटके करको ठेक्का लिएका ठकुरीले साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको भन्दै कार्यालयमै पुगेर आक्रमण गरेको स्थानीयको भनाई छ ।