रुपन्देही, साउन ७ । लुम्बिनीमा ५ हजार व्यक्ति अट्ने ध्यान केन्द्रको निर्माण गर्नै प्रधानमन्त्री केपी शर्मा ओलीको बोली पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीकै घोषणाअनुसार दुई बर्षअघि २०७५ वैशाख १७ गते बुद्धपूर्णिमाकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको सिलान्याश गर्नुभएको थियो ।
अहिले सभाहलको मुल संरचना तयार भइसकेको हो । यो सभाहल ४ विगाहा क्षेत्रफलमा फैलिएको छ । सभाहल निर्माणसँग प्रधानमन्त्री ओलीको बोली निकै रोचक रहेको छ । हावाहुरी र बर्षाले बुद्धजयन्ती) कार्यक्रम नै प्रभावित बनेपछि प्रधानमन्त्री ओलीले सभाहल निर्माणको घोषणा गर्नुभएको थियो । त्यसबेला कार्यक्रममा आउनुभएकी राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहितको विशिष्ट पाहुना भैरहवामै धेरै समय रोकिनुपर्यो । वर्षाका कारण कार्यक्रम अस्तव्यस्त भएपछि कार्यक्रमस्थलबाटै प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो, ‘लुम्बिनीमा ५ हजार जना अट्ने र एकैपटक ध्यान गर्न मिल्ने सभाहल बनाइन्छ ।’
प्रधानमन्त्री ओलीको घोषणा बमोजिम २०७५ वैशाख १७ गते बुद्धपूर्णिमाकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गर्नुभयो । अहिले सभाहलको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । सभाहलको मूल संरचना पनि तयार भइसकेको छ । लामो समय लकडाउनका कारण रोकिएका सभाहलका लागि आवश्यक फिनिसिङ र फल्स सिलिङका सामान पनि अव विदेशबाट आउँदैछन् । लुम्बिनी विकास कोषका योजना प्रमुख तथा इन्जिनीयर सरोज भट्टराईका अनुसार पहिलो चरणको निर्माणको काम सकिएकाले अब सभाहलमा कार्यक्रम गर्न मिल्ने बनिसकेको छ । उहाँका अनुसार हालसम्म हलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । अब हल फिनिसिङ, कलरिङ र साउन्ड सिस्टम राख्ने काम मात्र बाँकी छ । स्टेज बनिसकेको छ ।
सभाहललाई अन्तिम रुप दिन अहिले पनि ४० जनाको मजदुर टीमले दिनरात नभनी काम गरिरहेका छन् । सभाहल ५ हजार क्षमता भनिए पनि त्यहाँ ७ हजार कुर्ची राख्ने मिल्ने भट्टराईले जानकारी दिनुभयो । सभाहल नेपालकै ठूलो, आधुनिक र उत्कृष्ट सभाहल तथा ध्यान केन्द्र हुने जनाइएको छ । सभाहल निर्माण सकिन लागेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा पूरा हुन लागेको हो । पहिलो चरणको काम ३४ करोड रुपैयाँ लागतमा भएको छ । २ वर्षभित्र सम्पन्न गर्ने गरी अनक अर्घाखाँची बाबुक प्रालिले निर्माणको ठेक्का लिएको थियो । सभाहललाई व्यवस्थित रुपमा सञ्चालन गर्न थप पूर्वाधार दोस्रो चरणमा निर्माण हुनेछन । दोस्रो फेजको काममा पर्खाल लगाउने, गार्डेन बनाउनेदेखि पार्किङ बनाइने छ । त्यसको लागत अनुमान पनि भइसकेको छ ।
अब छिट्टै टेन्डरको प्रक्रियामा जाने कोषले बताएको छ । कोषले दोस्रो चरणको कामका लागि ३ करोड रुपैयाँको लागत अनुमान गरेको छ । दोस्रो चरणमा सभाहललाई घेरबार गर्ने, वरिपरि १२५ वटा विभिन्न देशमा फरक–फरक आकारका गौतम बुद्धका मूति राख्ने, बगैचा बनाउने, पाकिङस्थल बनाइने छ ।
प्रतिक्रिया दिनुहोस्