बागलुङ, साउन ९
प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिनुभएको छ । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्ती सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी हुनुभएको हो । पहिराले सडक अवरुद्ध हुँदा पैदल नै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिनुभयो ।
घर्तीले बिहीबार छोरी जन्माउनुभएको हो । ‘गाडी नचलेपछि उहाँहरु अलपत्र पर्नुभएको रहेछ, हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु पर्यो’, स्वास्थ्यकर्मी केसीले भन्नुभयो,‘म लगायत स्थानीय आमासमूह मिलेर उहाँको उद्धार र तत्काल गर्नुपर्ने स्याहार गर्यो ।’ नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उहाँको भनाइ छ । गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो ।
‘शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ’, केसीले भन्नुभयो,‘उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ ।’ शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पुर्याइएको थियो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । ‘आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमा हुनुहुन्छ, म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ’, उहाँले भन्नुभयो ।
बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए । अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो । निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्