जनता टाइम्स

२३ असार २०८२, सोमबार ११:२१

 एउटा हिमाल आरोहीको कथा : ‘ज्यानकाे बाजी लगाएर देशको नाम चम्काउन पनि माग्दै हिँड्नु परेको छ’


नवराज पथिक

रामेछाप, २३ असार । रामेछापका प्रकाशराज पाण्डे विश्वका सातवटै महादेशका सबैभन्दा सत ठुला हिमाल ( सेभेन समिट) को महाअभियानमा हुनुहुन्छ ।

सोही अभियान अन्तर्गत उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा सहित चारवटा महादेशका सर्वोच्च टाकुराहरू चुमिसक्नु भएको छ । अब तीनवटा महादेशका हिमाल आरोहण गर्न बाँकी छ । एक वर्षमा सातवटै महादेशका उच्च हिमाल आरोहण गरी पुन विश्वको सर्वोच्च शिखर आरोहण गरेर समिट पुरा गर्ने लक्ष राख्नु भएका प्रकाशलाई आफ्नो लक्ष पुरा गर्न सधैँ आर्थिक क्षेत्र चुनौतीपूर्ण बनेको छ ।

‘एउटा हिमाल आरोहण गर्न ३० देखि ४० लाख रुपैँयासम्म खर्च लाग्छ, आफ्नै खर्चले यो काम सम्भव छैन, सहयोग नै जुटाउने हो, सहयोग जुटाउन हिँड्दा धेरै ठाउँमा राम्रो रेस्पोन्स पनि गर्नुभएको छ तर कतिपय सरकारी निकायमा नै जाँदा पनि माग्नेको जस्तो व्यवहार भोगेको छु, यसो हुँदा धेरै दुःख लाग्छ, कतिखेर कहाँ के हुन्छ थाहा छैन, ज्यान जोखिममा राखेर देशको नाम चम्काउन पनि माग्दै हिँड्नु परेको छ’, पाण्डेले आफ्नो अनुभव सुनाउनुभयो ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ का प्रकाशराज पाण्डेले २०१६ बाट हिमाल आरोहण सुरु गर्नुभएको हो । प्रकाशले गएको फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाले माउण्ट ओकान्कागुवा आरोहण गर्नुभएको थियो । यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस, अफ्रिकाको किलिमञ्जारो आरोहण गरिसक्नु भयो छ । अब उत्तर अमेरिका, अष्ट्रेलिया र एन्टारर्टिका महादेशका सर्वोच्च शिखर आरोहण गर्न बाँकी छ ।

सन् २०१६ मा पाण्डेले पहिलो पटक स्काउटको नाममा नामकरण भएको उर्गेमा हिमाल चढ्नु भएको थियो । त्यस पछि उहाँले २०१७ मा  सोलुको आइल्याण्ड हिमाल आरोहण गर्नुभयो । २०१८ को मे १६ को बिहान ११ः३० बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्नु भयो ।

पाण्डेले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको समेत सफल आरोहण गरिसक्नु भएको छ । उहाँले आमादब्लम लगायतका हिमचुचुरालाई पनि चुमिसक्नु भएको छ ।

सातवटै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएका प्रकाशले सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गर्नुभयो । २०२५ फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाले माउण्ट ओकान्कागुवा आरोहण गर्नुभयो ।

आफूले हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउन चाहेको प्रकाश बताउनुहुन्छ । वातावरण परिवर्तनले हिमाललाई पारको प्रभाव रोक्न विश्व समुदायलाई दबाब दिने उहाँको लक्ष छ । आफू हिमाल चढ्दा एउटा प्रकाशराज पाण्डे मात्र हिमाल चढेको नभई नेपालको झण्डा हिमालको चुचुरोमा फहराउने उहाँले बताउनुभयो । ‘मेरो हिमाल आरोहण मेरो लागि होइन, देशको लागि हो, देशको नाम राख्नको लागि हो, सेभेन समिट नेपालको नाम राख्ने अभियान हो, यसमा मेरो व्यक्तिगत केही छैन, म त्यो अभियानको एउटा नेपाली पात्र मात्र हुँ, उहाँले भन्नुभयो’, उहाँले भन्नुभयो ।

सेभेन समिट अन्तर्गत प्रकाश यतिबेला इण्डोनेसियाको कार्टेन्स पिरामिड र अष्ट्रेलियाको कोजीसुकु पर्वत आरोहणको तयारीमा हुनुहुन्छ । त्यसकै तयारी स्वरूप डकुमेन्ट बनाउने र अर्थ जुटाउने अभियानमा उहाँ लाग्नु भएको छ । ‘संघ र प्रदेशका निकायहरू तथा स्थानीय तहहरूमा गइरहेको छु, धेरै ठाउँमा सकारात्मक र उत्साहवर्धक कुरा गर्नुभएको छ, कतिपय ठाउँमा माग्न गए जस्तो व्यवहार पनि भयो, आखिर यो मेरो लागि होइन, मैले देशको नाम राखौँ भनेर गरेको हो, यसलाई अझै नेपालको साझा अभियान बनाउन सकिएको छैन, सायद मैले बुझाउन सकेको छैन कि जस्तो लाग्छ’, उहाँले भन्नुभयो ।

प्रकाश इण्डोनेसियाको कार्टेन्स पिरामिड आरोहणको लागि जुलाई ३१ तारिखमा त्यस तर्फ लाग्दै हुनुहुन्छ । खर्च र डकुमेन्ट सबै मिल्यो भने त्यही मेसोमा कोजीसुकु पर्वत पनि आरोहण गरेर फर्कने योजना उहाँको छ । ‘एकै पटक दुवै महादेशका आरोहण गर्न पाए खर्च र समय दुवै बच्ने थियो, तर कागज पनि मिल्नु पर्‍यो, खर्चले पनि धान्नु पर्‍यो, दुई महादेशको हिमाल आरोहण गरेर फर्कन करिब ४५ लाख रुपैँया लाग्छ, अहिले त्यही जुटाउँदै छु’, पाण्डेले भन्नुभयो ।

प्रकाश एक अदम्य आँट र साहस बोकेर हिँडेको, देशको नाम राखौँ भनेर लागेको युवा हो । उहाँको यो अभियानमा सबैको सहयोगको आवश्यक छ । प्रकाशको सेभेन समिटको अभियान राष्ट्रको अभियान बन्नु पर्छ, देश र जनताको साझा अभियान बन्नुपर्छ ।