माधव–झलनाथले बामदेवकै बाटो अनुशरण गर्दा नेकपामा फेरि बल्झियो बिवाद : प्रचण्डलाई यसरी गरिदैछ प्रयोग
काठमाडौं, साउन १० । सत्तारुण् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि किचलो सुरु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति जनाए पनि बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटना साथ अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अर्कै कुरा गर्न थालेपछि नेकपाभित्र फेरि किचलो देखिएको हो ।
तात्कालिन नेकपा एमालेका अध्यक्ष ओली रहेसम्म माओवादीसँग कुनै हालतमा पार्टी एकता गर्न हुँदैन भन्ने निश्कर्षमा रहनुभएका बरिष्ठ नेता नेपालले अहिले प्रचण्डसँग समाहित भएर जसरी पनि नवौं महाधिवेशनमा हारेको बदला लिने र महाधिवेशन अगावै अनेकौं फण्डा गरेर जसरी पनि नेतृत्वमा पुग्ने लालचालाई प्रचण्डले मलजल गरेपछि बिवाद थप पेचिलो बन्दै गएको छ । सोही कारण अध्यक्ष प्रचण्ड एकता जोगाउने मुल लक्षबाट टाढिएर पूर्वएमाले समुहको एउटा गुटको फेरोमा अल्झिनु भएको छ । शुक्रवार पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएर पार्टीभित्रको बिवाद थप पेचिलो बनेको सन्देश दिनुभएको छ । पार्टी एकता दुई अध्यक्षले गरे पनि पछिल्लो पटक उहाँ माधव नेपालको निर्णयलाई केपी ओलीले सहीछाप गर्नुपर्ने जस्ता तर्क गर्न थाल्नुभएको छ ।
ओलीसँग एकता जोगाएर जान दुवै अध्यक्षको सहमतिको बिकल्न नदेख्ने प्रचण्ड माधव भेटना साथ ओलीकै बिरुद्ध एटम बम हान्न थालेपछि कतै प्रचण्ड माधव नेपाल र झलनाथ खनालकै डिजाइनमा पार्टी बिभाजनतिर त लाग्नुभएन भन्ने प्रश्न खडा भएको छ । नेकपाभित्र बरिष्ठ नेता माधव नेपाल तात्कालिन एमालेको नेतृत्व गर्दा आफूले कत्लेआम गरेका ओली निकट नेता–कार्यकर्तालाई पुनः कत्लेआम गरेर राजनीतिक करिअर समाप्त पार्नूपर्ने, आफूलाई ओलीकै हैसियतमा पार्टीमा राख्नुपर्ने र आगामी एकता महाधिवेशन अगावै ओलीलाई हटाएर आफू सो पदमा पुग्नुपर्ने योजनामा हुनुहुन्छ ।
चुनाव हारेर प्रधानमन्त्री बन्न सकिन्छ भने महाधिवेशन हारेर अध्यक्ष किन बन्न सकिन्न ? भन्दै नेपालले प्रचण्डलाई एकपछि अर्काे जालोमा फसाउँदै पार्टी बिभाजनतिर धकेल्न खोजेको आभाष भए पनि उम्किन सकिरहनु भएको छैन । आफू निकट नेतासँग स्वयं प्रचण्डले माधवसँगको सहकार्य आफूलाई भालूको कम्पट सरह भएको बताइसक्नु भइको छ । ‘माधवको कुरामा लाग्ने हो भने पार्टी फुटछ, उहाँ जसरी पनि ओलीसँग बदला लिने र बिचैमा पावरमा आउने योजनामा हुनुहुन्छ,’ प्रचण्डले आफूसँगको भनाई उधृत गर्दै उहाँनिकट स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने ।
त्यसो त अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगको कुराकानी सँधै सकारात्मक बनेको भन्दै मुस्कुराएर बालुवाटारबाट निस्कने प्रचण्ड नेपालसँगको भेटलगत्तै पुनः उग्र हुने गर्नुभएको छ । शुक्रवार पनि यही घटना दोहोरिएको छ । माधवसँगै एकसाथ बसेर उहाँले ओलीमाथि गम्भीर आरोप लगाउनु भएको छ । बालुवाटारले यस कुरालाई मिडियामा खपथका लागि भनेको भनाईका रुपमा बुझेपनि नेकपाभित्र ओलीसँग नवौं महाधिवेशनमा चुनाव हारेको समुह बदला लिए पार्टी नै बिभाजन गर्नूपर्छ भन्ने योजनामा छ । पार्टी बिभाजनकै लागि बरिष्ठ नेता नेपालदेखि झलनाथ खनालसम्म बिभाजनको कुरा गरिरहनु भएको छ । नेकपा बिभाजन हुँदैन, चोइटिन सक्छ भन्ने खनाल र नेपालको भनाई नै बिभाजनको तयारीका रुपमा हेरिएको छ ।
पार्टी बिभाजन नेतृत्वले होइन, महाधिवेशन अगावै नेतृत्वमा पुग्ने लालसाले हुन्छ भन्ने तथ्य बिगतका घटनाक्रमले नै प्रष्ट पारिसकेको छ । २०५४ सालमा एमाले बिभाजन हुँदा बामदेव गौतम नै कारण बन्नुभएको थियो । सरकारमा गए पनि आफ्नो पद सुरक्षित राख्न महासचिव नेपालले गौतमलाई उपमहासचिवको जिम्मेवारी दिनुभएको थियो । तर पछि बिवाद हुनसाथ नेपालले गौतमको सो पद खोसिदिएपछि उहाँकै बिरुद्ध गौतम लाग्नुभयो । गौतमले ओलीदेखि खनालसम्मलाई नेपाललाई हटाएर महासचिव बन्न प्रस्ताव गर्नुभयो । नेपाल हटाउन लगभग बहुमत पुगिसके पनि माइन्यूटनै बोकेर घरतिर लागेपछि केही दिनको् खेलोफडकोमा नेपालको बिपक्षमा बुहमत पुगेन । त्यही कारण अव सकिन्न भन्दै गौतमले महाकालीको माला जपेर एमाले बिभाजन गर्नुभयो ।
जवकी जनकपुरको राष्ट्रिय परिषद बैठकमा मोदनाथ प्रश्रितले महाकाली सन्धिको बिपक्षमा बोल्न लाग्दा गौतमले मञ्चमै पुगेर अवरोध गर्नुभएको थियो । तर महासचिव हटाउन नसकेपछि पार्टी नै बिभाजन गर्नुभयो । अहिले नेता नेपाल एमाले बिभाजन गर्ने गौतमको जस्तै नेकपा बिभाजन गर्ने योजनामा रहेको यथार्थ तथ्यहरुले खोलिसकेको छ । अहिले नेकपामा पनि स्थायी कमिटीमा बहुमत जुटाएर ओली हटाउने नसके प्रचण्डलाई प्रयोग गरेर पार्टी फुटाउने योजनाका साथ काम भइरहेको कुरा नेपाल र खनालकै अभिब्यक्तिले पुष्टि गरेको नेकपाकै एक नेता बताउँछन ।
‘संस्थापनले कहिल्यै पार्टी फुटाउँदैन, फुटाउनेहरु त गुटबन्दी गर्ने समुहले हो, अहिले अध्यक्षबिरुद्ध जस्ले गुटबन्दी गरिरहेको छ, त्यही समुह पार्टी एकता भाँडन र बिभाजन गर्ने खेलमा छ, यो कुरालाई दुवै अध्यक्षले बुझ्नुपर्छ,’ नेकपा स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार पछिल्लो समयमा यही योजनाका साथ प्रचण्डलाई प्रयोग गरेर ओलीबिरुद्ध आक्रमण गर्ने, प्रचण्डलाई भरपुर आफ्नो पक्षमा प्रयोग गर्ने र ओलीबिरोधी मोर्चा सफल भए आफू प्रधानमन्त्री बन्ने नेपाल समुहको भित्री योजना रहेको छ । ‘एक ब्यक्ति एक पदको कुरा आफू प्रधानमन्त्री हुनकै लागि हो, एकता महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने कुरा उहाँहरुलाई राम्रैसँग जानकारी छ,’ ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस्