जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार ०५:२५

जिप्रका स्याङ्जाका प्रमुखसहित ३७ प्रहरी कोरोना संक्रमित : निषेधाज्ञामा कडाइ, सार्वजनिक यातायात बन्‍द


स्याङ्जा, साउन १४ । मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुने बच्चा पनि प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् । उनको पनि परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । ९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् ।

संक्रमित बनेपछि स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् । मंगलबारमात्रै पुतलीबजारमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारनै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका ४ जना र वालिङ नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रुपमा जिल्ला नै सिल गरेको छ । आवतजावतमा पूर्ण सुरक्षा कडाइ गरेको छ । अत्यावश्यकबाहेक अन्य कामले बाहिर ननिस्कन र अटेरी गरे कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको छ ।

प्रमुख जिल्‍ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमितको संख्या बढेपछि मंगलबार साँझदेखि नै निषेधाज्ञामा कडाइ गरेको बताउनुभयो । कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । तर निर्णयसँगै अत्यावश्यक सामग्रीको पसल खोल्न विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म समय तोकिएको छ । जिल्लाभित्र चल्न थालेका सार्वजनिक यातायात पनि रोकिएको छ । सेवा प्रदायक कार्यालयलाई पनि नियन्त्रित तरिकाले सञ्चालन गर्न निर्देशन दिइएको छ ।