जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १५:०२

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित : यी अस्पतालमा भइरहेको छ १३२ जना संक्रमितको उपचार


काठमाडौं, साउन १५ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुलेसँगै बजारमा जथाभावी हिडडुल गर्ने र स्वास्थ्य प्रोटोकल पूरा नगर्दा संक्रमितको संख्या दिनानुदिन बढन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संख्या बढेसँगै हाल उपत्यकाका विभिन्न अस्पतालमा १ सय ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सरकारले १ सय २० दिनसम्म लकडाउन गरेर साउन ७ गतेदेखि खुला गरेको थियो । लकडाउन खुला भएपछि उपत्यकामा स्रोत पहिचान नभएका कोरोना संक्रमित फेला पर्न थालेका चिकित्सकहरुले जनाएका छन । काठमाडौं, भक्तपुर, ललितपुर तीनवटै जिल्लाका मानिसमा कोरोना संक्रमण भेटिएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भेटिएका १ सय ३२ जना कोरोना संक्रमितहरुलाई विभिन्न ८ वटा अस्पतालमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा २६ जना र आइसियुमा ८ जना, बलम्बुमा रहेको सशस्त्र प्रहरी बल एपिएफको अस्पतालमा ६० जना आइसोलेसन र एकजना आइसियुमा, त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा एकजना र आइसियुमा दुई जनाको उपचार भइरहेको छ । यसैगरी पाटन अस्पतालको आइसोलेसनमा २९ जना, आाइसियुमा २ जना र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उपत्यकाका तीन जना कोरोना संक्रमितको भने धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । दुईजना आइसोलेसन र एकजनाको आइसियुमा राखेर उपचार गरिरहेको धुलिखेल अस्पतालले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशैभर ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण गरिएकोमा १९ हजार २ सय ६३ जना संक्रमित फेला परेका छन् । जसमध्ये १४ हजार २१ जना कोरोना जितेर घर फर्किएका छन भने ५१ जनाको ज्यान गइसकेको छ ।
लकडाउन खुलेपछि उपत्यकामा कोरोना संक्रमित बढनुका साथै समुदायस्तरमा कोरोना फैलिएको आशंका व्यक्त गरिए पनि हालसम्म पुष्टि भइसकेको छैन । चिकित्सकहरुले आवश्यक सतर्कता अपनाउन भने निरन्तर सूचित गर्दै आएका छन ।