भण्डारीले मितेरीका तत्कालीन महाप्रबन्धक कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङलाई प्रभावित गरी ०७६ मा सहकारीबाट तीन करोड र त्यसपछि थप १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिई ‘क्रिप्टो’मा लगानी गरेको प्रहरीले बताएको छ ।
काठमाडौं, असार ५ । ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रमुख एआइजी चन्द्रकुवेर खापुङका अनुसार भण्डारीलाई कम्बोडियाबाट बुधवार मध्यराती नेपाल ल्याइएको हो ।
इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएका मितेरी सहकारीका तात्कालिन अध्यक्ष भण्डारीलाई कम्बोडियन प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो । मितेरी सहकारी ठगीको बिषयमा सिआइवीले अनुसन्धान गरिरहेको छ । बुधबार मध्यराति नेपाल ल्याइएका भण्डारीलाई सिआइवीकै हिरासतमा राखिएको छ । सिआइबी प्रमुख खापुङले भण्डारीको बारे डिटेल बुझ्ने काम भइरहेको बताउनु भयो ।
अनुसन्धानमा संलग्न सिआइबी अधिकारीहरुका अनुसार भण्डारीले मितेरीका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङलाई प्रभावित गरी ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ लिएका थिए ।
ज्योती नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङका पूर्वपत्नी हुन । सो सहकारी काण्डकै बिषयमा बिवाद भएपछि उहाँहरुबीच कागजी रुपमा सम्बन्ध बिच्छेद भएको भनिएको छ ।
ज्योतीसँगको डिभोर्सको घटना कृतिम भएको भन्दै धनराजको निकै आलोचना भएको थियो । उहाँमाथि पैसाका लागि यतिसम्मको बदमासी गरेको भन्दै सामाजिक सञ्जालमा र्चाे आलोचना भएको हो ।
तीन करोडपछि पनि भण्डारीले सहकारीबाट थप १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएको र उक्त रकम उनले ‘क्रिप्टो’मा लगानी गरेको अनुसन्धानले देखाएको छ । भण्डारीकै योजनामा ज्योतिले सबै हर्कत गरेको प्रहरीको भनाइ छ ।
सिआइबीले घटनामा जोडिएका भण्डारी र गरुङसहित सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध गत बर्ष अर्थात २०८१ असोज ६ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनीहरूमध्ये कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरीका अनुसार ठगीमा संलग्न सबै अभियुक्त नेपालबाट भागिसकेका छन । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको छ । प्रहरी स्रोतले ज्योती अहिले अमेरिकामा रहेको बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै भण्डारीलाई नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ गर्नेछ । घटनाको अनुसन्धानका लागि सिआइबीमा बुझाउनेछ । त्यसलगत्तै मितेरी ठगीको अनुसन्धान फाइल पुनः खुल्ने सिआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्