जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ०८:३२

कमरेड, प्रचण्ड-माधव ! त्याग्नोस सर्वनाशको त्यो बाटो


आआफ्ना गुटका टाउकाहरु गन्दै केपी ओलीलाई पार्टी अध्यक्ष र सरकारबाट हटाउन जनअभिमतविपरित देशलाई फेरी अस्थिरतातर्फ धकेल्ने कोशिश भैरहेको छ। यो आम कार्यकर्ताको चाहना होईन, सिमित स्वार्थ र गुटमा रमाउने लोभीपापीहरुको चाहना हो भन्नुमा कुनै अत्युक्ति नहोला

बिनोद पोख्रेल

सत्तारुढ नेकपाको संकट गंभीर मोडमा पुगेको छ। कुनै पनि समयमा सहमतिको सकारात्मक सन्देश आउन सक्छ वा विभाजनको पीडा व्यहोर्नु पर्ने हुन्छ यकिन छैन । देशभरका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरु सकारात्मक सन्देशको पर्खाईमा छन तर परिस्थिति कुन मोडमा पुग्छ भनेर कसैले आँकलन गर्न सक्ने अबस्था छैन। छिमेकी देश भारत कुनैपनि हालतमा केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पर्खाईमा बसिरहेको मात्र होईन, मिडियामा घृणित प्रचारवाजी गर्दै हाम्रा नेताहरुलाई समेत प्रभाव पार्न कोशिस गर्दैछ। उसले अनुरोध मात्र होईन, साम, दाम, दण्ड भेदको निति नै प्रयोग गरेको छ। भारत कति सफल हुन्छ ? त्यो भबिष्यले नै बताउला तर हामीले हाम्रा नेतालाई नै विश्वास गर्नुपर्छ न कि भारतीय प्रचारवाजीको। तथापि उसले फुकेका तथा कामना गरेका ती आवाजहरु हाम्रो राजनितीमा संयोग मात्र नबनुन हाम्रो आशा त्यही नै हो।

दुई बर्ष अगाडि गरिएको नेकपाको ऐतिहासिक एकताले देश र जनतामा जुन खुशीको सन्देश दिएको थियो, आज दुई बर् पछि त्यो खुशी संन्त्रासमा बदलिएको छ। नेकपा अहिले पूर्वप्रधानमन्त्री तथा पूर्वपार्टी प्रमुख भएका मात्र चार जना नेता छन। करिव आधा दर्जन भन्दा बढी पार्टी तथा सरकारका पूर्वउप प्रमुखहरु भैसकेका छन । ती सबैको चाहना पार्टी प्रमुख वा प्रधानमन्त्री बन्ने नै हो । कसैको राष्ट्रपति बन्ने चाहना पनि होला। तिनै चाहनाहरु बिभिन्न कोणबाट बिभिन्न नामबाट प्रस्फुटन भैरहेको छन। पार्टी एकीकरण गर्दा आगामी एकता महाधिवेसन नहुदासम्म जुन सहमतीय बिधि र पद्धती बनाएर नियमित संगठन संचालन र एकता प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तरिम विधान तथा त्यस अन्तर्गत समितिहरु बनाईएका थिए । अहिले त्यसको आडमा आफ्ना गुट उपगुट खडा गरी आआफ्ना गुटका टाउकाहरु गन्दै केपी ओलीलाई पार्टी अध्यक्ष र सरकारबाट हटाउन जनअभिमत विपरित देशलाई फेरी अस्थिरतातर्फ धकेल्ने कोशिश भैरहेको छ। यो आम कार्यकर्ताको चाहना होईन, सिमित स्वार्थ र गुटमा रमाउने लोभीपापीहरुको चाहना हो भन्नुमा कुनै अत्युक्ति नहोला।

अहिले विधि र पद्धतिको नाममा सहमतीय आधारलाई लत्याएर पार्टीलाई विभाजन गर्नेगरी जुन बैठक बसेर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउने एउटा कुटिल चालको नाटक मंचन हुनगैरहेको थियो, त्यसको पटाक्ष भैसकेको छ। धेरै पहिलेदेखि केपी ओलीको आलोचना गरिरहेका प्रभाबशाली नेता भीम रावलले समेत आफ्नो पदको स्वार्थको लागि हाम्रो टाउका नगन्न पार्टीका अर्का अध्यक्ष क. प्रचन्ड तथा बरिष्ठ नेता क. माधब नेपाललाई चुनौती दिँदै एउटा भेलाबाट बाहिर निस्किएका थिए भने पहिले पनि पार्टी एकताका लागी निकै राम्रो भुमिका खेलेका पार्टीका प्रभावशाली नेता उपाध्यक्ष बामदेब गौतमले विवाद समाधान गर्ने ६ बुदे प्रस्ताव पेश गर्नुभएको छ । जसमा प्रम केपी ओली सहमत भए जस्तो देखिन्छ तर अर्को पक्ष आफ्नो अभिष्ट पूरा हुने नदेखेर त्यो प्रस्ताव फिर्ता लिन दबाब दिई रहेका छन। पूर्वमाओवादी तर्फका बरिष्ठ नेताहरु लगायत स्थायी समितिमा रहेका अधिकांश नेताहरु अहिले एकताको मर्म र स्थिरताको जनअभिमत लाई भुलेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामा माग्नु गलत हो र यसले पार्टीलाई एकता होईन विभाजनतर्फ लैजान सक्छ भनेर राजीनामाको विरुद्धमा एकजुट भएर उभिएका छन।

यता स्थायी समितिबाट निहित स्वार्थ पुर्ति हुने नदेखेपछि प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु टाउका गन्ने रणनिती लिएर अहिले फेरी केन्द्रीय कमिटीको बैठकको माग गर्दै नेताहरुको घर घरमा कुदिरहेको देखिन्छ। देश र जनताको खातिर आफुले विभिन्न आरोह, बिग्रह, बिभाजनको पीडा भोगेर गरेको पार्टी एकीकरणलाई आफ्नो त्यत्रो त्याग र तपस्याको अवमुल्यन गरेर पुन ? विभाजनतर्फ अगाडि बढने मा विश्वास गर्न सकिदैन तर पार्टी एकता एउटा कुटिल चाल चालिएको थियो भने त्यस्को परिणामबाट आउने विभाजनको बाटोलाई नकार्न सकिदैन।

देश र जनताको पक्षमा राम्रो काम गर्दा सरकार र पार्टी नेतृत्व छाडनुपर्ने नजिर नबसोस । अहिले नेकपाभित्र बिधि र पद्धतिको नारा जपेर आफूलाई पद प्राप्तीको लडाईमा अहिले प्रचण्ड र माधव नेपाल कमरेडहरु जसरी लागिरहनुभएको छ, यस खेललाई भारतले बाहेक कसैले मन पराएको छैन । भोलि भारतले जिताउने होइन, नेपाली जनता र कार्यकर्ताले हुन । चुनाव अघि नै प्रधानमन्त्री र महाधिवेशनअगावै अध्यक्ष हुने सर्वनाशको बाटो त्याग्दा नै तपाईहरुको पनि भलो छ 

गुट उपगुटमा चाहे अल्पमत होस वा बहुमत एकता महाधिवेशन पूर्व जाने दुई पार्टी अध्यक्षकै सहमति मै हो र यो पनि तितो सत्य हो मन नमिलेपछि टुटेको मनलाई विभाजन गर्ने उपयुक्त स्थान पनि महाधिवेशन नै हो। पार्टीहरु विभाजन हुन सक्छन पुनः जोडिन सक्छन, अनौठो होईन तर एउटाले अर्कोलाई हिलो छ्यापेर मुखमा कालो दलेर नेताहरु विभाजन नहोउन । कम्म्तिमा विभाजन हुँदा भोलि देश निर्माणमा सहकार्य गर्ने वातावरण बनाएर विभाजन रेखा कोरियोस भन्ने आम कार्यकर्ताको चाहना पनि हो।

पार्टी एकता विवाह बन्धन बाधिनको लागि कोर्ट म्यारिज गरे जस्तै हो। दुई बर्ष अगाडि निर्बाचन आयोगमा एमाले र माओवादी केन्द्रबीच कोर्ट म्यारिज भएको हो। घरभित्र राम्रोसंग बस उठ आफन्तसंग चिनजान भएकै छैन । एक आपसमा बाहिर देखिने होईन, भित्रि आनीबानी व्यबहार थाह छैन। एक आपसमा माया प्रेम र आत्मियता जेडिएकै छैन। आफ्ना ईष्टमित्रहरु वीच घरभित्र आउने जाने गरेर घुलमिल भएकै छैन। निर्वाचन आयोगमा दर्ता गरेर मात्र सरकार बनाउन त एउटा पार्टी बन्ला, तर गॉंउगॉंउसम्म गएर पार्टीका स्थानीय संगठनहरुको एकता नगरे सम्म, हरेक वर्गीय संगठनलाई एकता गरेर पूर्णता नदिएसम्म तथा पार्टीका आधिकारिक समिति आयोग मञ्चहरुलाई एकता गरेर पूर्णता नदिएसम्म यो एकता पुर्ण हुने छैन। पुर्ण एकता सम्पन्न नगरिकनै संगठन संचालनको लागि मनोनितहरुको बहुमत, अल्पमतको टाउका गनेर नेतृत्व तथा संगठनमा गरिने परिवर्तन एकताको बिपरित मात्र होईन, विभाजनको बाटो बनेछ भने राष्ट्र र जनताप्रति घोर अन्याय हुनेछ। यस्तो दुस्साहस कँही कसैबाट नहोस। सबै नेतामा सदबुद्धी आओस ।

देश र जनताको पक्षमा राम्रो काम गर्दा सरकार र पार्टी नेतृत्व छाडनुपर्ने नजिर नबसोस । अहिले नेकपाभित्र बिधि र पद्धतिको नारा जपेर आफूलाई पद प्राप्तीको लडाईमा अहिले प्रचण्ड र माधव नेपाल कमरेडहरु जसरी लागिरहनुभएको छ, यस खेललाई भारतले बाहेक कसैले मन पराएको छैन । भोलि भारतले जिताउने होइन, नेपाली जनता र कार्यकर्ताले हुन । चुनाव अघि नै प्रधानमन्त्री र महाधिवेशनअगावै अध्यक्ष हुने सर्वनाशको बाटो त्याग्दा नै तपाईहरुको पनि भलो छ ।

(अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आउनुभएका पोखरेल जनताटाइम्स डटकमका नियमित लेखक हुनुहुन्छ )