जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १४:०२

बागमती प्रदेशले बाढीपहिरो प्रभावित पालिकालाई १ करोड ८० लाख दिने


काठमाडौं, साउन २६

बागमती प्रदेश सरकारले बाढी–पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रदेशमा पर्ने विभिन्न ९ पालिकालाई १ करोड ८० लाख प्रदान गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको बैठकले ७ गाउँपालिका र दुई नगरपालिकालाई क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री एंव समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई रु. ३० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी धादिङकै सिद्दलेक र गजुरी गाउँपालिकालाई २०–२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५–१५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक र बिगु गाउँपालिकालाई १५–१५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । ती स्थानीय तहका विभिन्न ठाउँमा बाढी–पहिरोले जनधनको क्षति पुर्‍याएकाले सहयोग गरेको उहाले बताउनु भयो ।