जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १२:३४

यो अग्निपरीक्षामा सफल होलान कृषिमन्त्री भुसाल ?


काठमाडौं, भदौ १८ । नेकपाभित्र बैचारिक नेताका रुपमा स्थापित कृषि तथा पशुपंक्षी बिकाश मन्त्री घनश्याम भुसाल युरिया मलको बिषयमा ठेकेदारले गरेको बदमासीका कारण कठोर अग्निपरीक्षाको सामना गर्नुपरेको छ । नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको घरभेटी भनेर चिनिएका ठेकेदार शारदाप्रसाद अधिकारीको कारण मन्त्री भुसालले अग्निपरीक्षाको सामना गर्नुपरेको हो ।

अधिकारीको शैलुङ इन्टर प्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले जिम्मा पाएको २५/२५ हजार मेट्रिक टन मल नल्याएपछि मुलुकमा मलको हाहाकार भएको छ । आयातको जिम्मा पाएकामध्ये अधिकारी प्रचण्डका घरभेटी हुनुहुन्छ । सस्तोमा टेन्डर कबोल गरी ठेक्का हात पारेको शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले अहिलेसम्म मल आयात नै गरेका छैनन् । यी दुवै कम्पनीले ठेक्का सम्झौताअनुसार गत साउन १० गते पहिलो लट र आगामी शनिबार अर्थात भदौ २० गतेभित्र सबै परिमाणमा आयात गरिसक्नुपर्ने थियो । तर पहिलो लटकै मल ल्याउने छाँटकाँट समेत देखिएको छैन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत रहेका अधिकारीले मल आयात नगरे पनि पहुँचका भरमा सो कम्पनीसँग सरकारी अधिकारीले ठेक्का सम्झौता खारेज गर्न सकेका छैनन् । गत वर्ष पनि यो कम्पनीले २५ हजार मेट्रिक टन मल आयात गर्ने ठेक्का सम्झौता गरेपनि तोकिएको समयमा मल ल्याउन सकेको थिएन । यस पटक भएको टेन्डरमा यही सस्तो कवोल गरी यही कम्पनीले ठेक्का पारेर मल नल्याइ हाहाकार मच्चाएको छ ।

मल आयात गर्ने अर्को कम्पनी होनिको ठेकेदार हुमनाथ कोइरालाले पनि अधिकारीकै जस्तो काम गरेका छन । शक्तिका आडमा ठेक्का लिएर काम नगर्ने यिनै दुई कम्पनीको बदमासीका कारण मन्त्री भुसालमाथि समेत चर्काे प्रश्न उठेको छ । भुसालले २० गतेसम्म आफूबोल्न नमिल्ने भन्दै त्यसपछि एक्शन लिने बताउनु भएको छ । तर आफ्नै पार्टी अध्यक्षको घरबेटीलाई कार्वाही गर्ने हिम्मत राख्नु होला र भन्ने आशंका आम जनमानसमा रहेको छ ।