जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १७:३५

डिप्रेसनको स्थितिमा पुग्यौं अब सार्वजनिक सवारी चलाउँछौँ : यातायात व्यवसायी


काठमाडौं, भदौ २४

यातायात व्यवसायीहरुले १ असोजबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनलाई निषेध गरिएको छ तर व्यवसायीले अब यातायात सञ्चालन गर्ने बताएका हुन् ।

आज भएको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयुक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।

सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताउनुभयो । सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको पनि उहाँले जानकारी दिनुभयो । आफूहरुसँग अब सिटामोल खान सक्ने अवस्था पनि नभएको उहाँले सुनाउनुभयो ।

यता यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताउनुभएको छ । उहाँले कोरोना संक्रमण मुक्त भएको र कम भएका ठाउँमा यातायात सञ्चालन गर्न सकिने सुझाव दिएको पनि बताउनुभयो ।

सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गरेर मात्रै सञ्चालन गरिने यातायात व्यसायीले बताएका छन्। आफूहरुले सुरक्षाका लागि अपनाउने मापदण्डको प्रोटोकल समेत तयार गरेर विभागमा बुझाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताउनुभयो । साढे ५ महिनासम्म लामो दूरीका सवारीसाधन चल्न नसक्दा आफूहरु डिप्रेसनको स्थितिमा पुगेको व्यवसायीहरुले बताएका छन् ।