काठमाडौं, असोज २१
सरकारी एक अधिकारीले बिना तथ्य सनकको भरमा बोल्दा दुई देशबीच सम्बन्धमा असर पर्न सक्ने एउटा घटनाले उजागर गरेको छ । अप्रमाणित कुरा बोल्दा दुई देशबीच सम्बन्धमा कति असर गर्छ भनेर हुम्लाको विषयले उजागर गरेको हो ।
केही समय अगाडी नेपाली सञ्चारमाध्यममा एउटा समाचार आयो । नेपाल–चीनबीच सीमाको विषयमा आएको समाचारले अन्तराष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानकर्षण गराउन सफल भयो । विषय थियो, ‘हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली सीमा मिच्यो ।’ त्यो विषय कसरी बाहिर आयो भनेर खासै चर्चा भएन, चर्चा भयो त, चीनले नेपाली सीमा मिच्यो । कतिले यसलाई प्रायोजित भने कतिपयले यसलाई सीमा मिचेको रुपमा बुझे ।
सो समाचार कुनै तथ्यमा नभई सहायक सिडिओ सनकको भरमा आएको कुरा थियो । सो क्षेत्र फर्किएर आएका सहायक सिडिओ दत्तराज हमालले तथ्य बिना दिएको सूचनाका आधारमा बनाइएको समाचार भाइरल बनेको थियो ।
उनले कसरी यो सूचना सञ्चारमाध्यममा पु¥याए त ?
उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रम अनुसार गएको १९ भदौमा गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत पर्ने लिमीमा एकीकृत शिविर सञ्चालन र योजनाहरुको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय गरेको थियो । त्यसबारे जानकारी पाएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसँग आफू पनि लिमी जान चाहेको सुनाए ।
गाउँपालिकाका लागि यो राम्रै कुरा थियो । त्यसपछि गाउँपालिकाले सहायक प्रजिअसहित लिमी जाने टोली ४२ सदस्यीय बनायो । जिल्ला सदरमुकाम सिमकोटबाट गाउँपालिकाकै गाडीमा गएको टोली लिमी पुगेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार टोलीका धेरैजसो सदस्य स्वास्थ्य शिविर सञ्चालनमा व्यस्त रहे। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पनि भेटघाट र प्रशासनिक काममा अल्झिए । सहायक प्रजिअ हमाल भने त्यहाँ जानुको कारण कैलाश मानसरोवरको दूर दर्शन थियो, जुन लिमी उपत्यकाको लोलुङजोङबाट गर्न सकिन्थ्यो । केही स्थानीयलाई लिएर उनी त्यता लागे ।
नेपाली भूमिबाट सहजै कैलाश मानसरोवर दर्शन गरेका हमालले एक्लो र समूहगत तस्वीर लिए । त्यहीबेला उनले लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखे । मानव वस्ती नभएको पठार क्षेत्रमा सुविधासम्पन्न भवन देखेपछि सँगै गएका स्थानीयलाई त्यसबारे सोधे । स्थानीयले पनि चीनले बलमिच्याईं गरेर नेपाली भूमिमा भवन बनाएको सुनाए । त्यसपछि हमालले टाढैबाट आफ्नो मोबाइलमा ती भवन कैद गरे । त्यसको दुई दिनपछि सदरमुकाम सिमकोट फर्केका हमालले केही सञ्चारकर्मीसँग चीनले सिमाना मिचेको कुरा र आफुले खिचेको तस्विर सेयर गरे ।
दुई देशबीचको सीमासम्बन्धी संवेदनशील कुराको हेक्का नराखी सहायक प्रजिअ हमालले यस्तो सूचना दिएपछि यो खबर भोलिपल्ट उनलाई नै उद्धृत गरेर काठमाडौंका सञ्चारमाध्यममा फैलियो । त्यसपछिको परिणाम जगजाहेर छ । काठमाडौंस्थित चीनियाँ दूतावासले तत्कालै विज्ञप्ती निकालेर आफुले सीमा अतिक्रमण नगरेको दाबी गरेको थियो । परराष्ट्र मन्त्रालयले पनि सो भूभाग चीन कै भएको र यस्तो विवाद विगतमा पनि निस्किएको र सरकारी अधिकारीले निरिक्षण गर्दा चीनकै भूमि भएको भूमि भएको पाइएको बतायो ।
सहायक प्रजिअ हमालले भने लाप्चा क्षेत्रमा पुग्दा स्थानीय जनप्रतिनिधिदेखि सर्वसाधारणले समेत पछिल्लो ६ महीनामा ९ वटा नयाँ भवन बनाएको र त्यो क्षेत्र नेपालको भएको बताउँदै आवाज उठाइदिन भनेपछि आफूले सञ्चारमाध्यमलाई जानकारी दिएको बताए । ‘त्यसरी कुरा उठाउँदा सरकार र छिमेकी मुलुक चीनले पनि छिटो सुनुवाई गर्ला भन्ने ठानेर कुरा गरें’, उनले भने, ‘तर मेरो कुरा पदीय मर्यादा विपरीत भएछ । यसभन्दा बढी बोल्ने अधिकार मलाई छैन, पछिल्लो समय मलाई बोल्न, प्रतिक्रिया दिन बन्देज लगाइएको छ ।’
प्रतिक्रिया दिनुहोस्