जनता टाइम्स

१५ असार २०८२, आईतवार १४:२०

प्रसिद्धको शतक, बिपिनको ६ विकेटमा इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित


काठमाडौं, १५ असार । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रनमा अलआउट भयो ।

कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाए । बलिङमा बिपिनले ७।३ ओभरमा १२ रन मात्र दिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको थियो । नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । साथै जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो । जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए । अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए । पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १(१ विकेट लिए । समूह ए मा रहेको नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले तथा दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो । समूह ए मा नेपालभन्दा १ खेल बढी खेलेको सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । जापान र इन्डोनेसियाको २(२ अंक छ भने भुटान अंकविहीन छ । नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।