जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १३:००

विवादस्पद निर्माण कम्पनी पप्पुका मालिक रौनियारको सांसद पद फुकुवा गर्न सर्वोच्चद्वारा अस्विकार


काठमाडौै, असोज २३

सर्वोच्च अदालतले विवादस्पद निर्माण कम्पनी पुष्प कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न अस्वीकार गरिदिएको छ । सर्वोच्चको आदेशसँगै रौनियारको संसद छिर्ने प्रयास तत्कालका लागि रोकिएको हो ।

सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि विहिवार सुनुवाइ गर्दै न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यद्यपी सर्वोच्चले संघीय संसद सचिवालयलाई कारण देखाउ आदेश भने दिएको छ । साथै उनको यो मुद्दालाई अग्राधिकार दिने निर्णय पनि गरेको छ ।

उनी तत्कालीन संघीय समाजवादीका तर्फबाट पर्सा–३ बाट निर्वाचित भएका थिए । श्रेष्ठको इजलासले उनले दिएको निवेदन अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएको छ । दुई वर्षअघि आयोगले पप्पु कन्ट्रक्सन र त्यसका मालिक रौनियार, उनका छोरा समितसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा लागेपछि स्वत सार्वजनिक पद निलम्बिन हुने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार रौनियारको पद निलम्बनम परेको जानकारी आयोगले संसद सचिवालयलाई गराएको थियो ।