जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १४:५९

ग्यास सिलिन्डर विस्फोटले नयाँ बजारमा १० घरमा क्षति, ११ जना गम्भिर घाइते


काठमाडौं, असोज २९

काठमाडौं महानगरपालिका १६, नयाँ बजारस्थित फलफूल चोकमा नीलकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना गम्भिर घाइते भएका छन् । ग्यास खोल्दा ‘लिक’ भएर बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि यकिन पत्ता लाग्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बिस्फोटबाट क्षेत्रीको चारतले घर ध्वस्त भएको छ भने अन्य १० वटा घरमा क्षति पुगेको छ । क्षेत्रीको घरसँगै अन्य घर पनि जोडिएकाले क्षति भएको हो । किरियापुत्री बसेका क्षेत्रीको घरका तीनजना घाइते छन् । अरु घाइते छिमेकी भएको बताइएको छ ।

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । घरमा एउटा मात्रै सिलिन्डर थियो वा अरु थिए खुल्न सकेको छैन । यसबारे आफन्त होसमा आएपछि मात्रै थप खुल्ने प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छिमेकीहरुले भने भान्सामा चार वटासम्म ग्यास सिलिन्डर भएको हुनसक्ने आकलन गरेका छन् ।