ओखलढुंगा, कात्तिक ७
ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई सख्त घाइते बनाउने मोलुङ गाउँपालिका ७, पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् । ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।
तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया सख्त घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।
दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन सुरु गर्नुभएको छ । अहिलेसम्म १६ हजार २७५ रुपैयाँ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्