वाशिङ्टन, कात्तिक ७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताउनुभएको छ । राष्ट्रपति निर्वाचनका लागि आज भएको अन्तिम टेलिभिजन बहसका क्रममा उहाँले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताउनुभएको हो । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति भारतीयहरुले यस विषयमा विभिन्न चासो, चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । तर, केहीले भने राजधानी नयाँ दिल्लीमा विश्वकै सबैभन्दा बढी वायु प्रदुषण रहेको स्वीकार गरेका छन् । पछिल्लो साता राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको स्तर निकै खराब बनेको छ । स्थानीयहरुले श्वासप्रश्वासमा समेत समस्या भइरहेको बताइरहेका छन् ।
वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन
भारतमा वायु प्रदुषणको स्तर २.५ पीएम पुगेको छ । जुन अति खतरानक अवस्था हो । पछिल्लो साताहरुमा राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको औषतमा १८० देखि ३०० माइक्रोग्राम प्रति घनमिटर रहेको छ । यो भनेको विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डभन्दा १२ गुणा बढी हो ।
पेरिस जलवायु सम्झौताका विषयमा बोल्दै राष्ट्रपति ट्रम्पले भने ‘त्यहाँ भारतमा हेर्नुहोस्, रुसमा हेर्नुस्, चीनमा हेर्नुस् । वायु प्रदुषणको अवस्था कस्तो खराब छ । पेरिस सम्झौतामा हामीलाई अन्याय भएको थियो । त्यसकारण बाहिरिने निर्णय गरिएको हो ।’ भारतमा जाडो मौसममा वायु प्रदुषणको अवस्था निकै खराब हुने गरेको यथार्थ हो । राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जाल ट्विटरमा ‘फिल्थी’, ‘हाउडी मोदी’ ट्रेन्डिङमा पुगेका थिए । बीबीसी
प्रतिक्रिया दिनुहोस्