जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार ११:३९

प्रधानमन्त्रीबाट प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को लोगो सार्वजनिक 


काठमाडौं, ३१ बैशाख । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

मंगलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभएको हो । प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।

बालुवाटारमा आयोजित जनसंगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गर्नुभयो । ‘झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । ‘सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकार जस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिनुभएको छ । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेले बताउनुभयो ।

तालिमले व्यावसायिक र मर्यादित पत्रकारितामा योगदान पुर्‍याउने उहाँको दबी छ । ‘यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ, प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ, जिल्ला शाखाले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम राख्ने छन्’, उहाँले भन्नुभयो ।

प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारहरूको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । संगठनमा ७ हजारभन्दा बढी पत्रकार आबद्ध छन् ।

कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूको सहभागिता रहेको थियो ।