जनता टाइम्स

११ कार्तिक २०७७, मंगलवार १८:३१

कोरोना संक्रमणबाट नेकपा नेता चौधरीको मृत्यु


सप्तरी, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं संविधानसभा सदस्य मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा आज मृत्यु भएको हो । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिराटनगरमा उपचारपछि घर फर्कनुभएका नेता चौधरीको स्वास्थ्यमा सुधार नभएपछि सुरुमा कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएको थियो । तर स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति धरान रेफर गरिएको थियो । उहाँको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज निधन भएको हो ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी हुनुहुन्छ । नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गर्नुभएका २०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्यका रुपमा एमालेको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गर्नुभएका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो ।

माओवादीमा उहाँ मिथिला राज्य समितिको सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित हुनुभएको थियो ।