जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार १३:०८

नारायणकाजी कमरेड ! तपाईं पार्टी प्रवक्ता कि कम्युनिष्टबिरोधी प्रतिक्रियावादीको अधिबक्ता ?


मानवीय स्वभाव हो, यस्तो हुन्छ तर आफूले आफैँलाई सच्याउनु पर्छ । नेता माननीय, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति तपाईंहरु नै हुने हो । हामी त कारमा होइन। कलम, किताब र कपीमा गर्व गर्ने मान्छे हौँ । हामी पद भन्दा प्रतिष्ठालाई महत्व दिन्छौँ, भात भन्दा भविष्य हेर्छौं । महाराजले प्रदान गरेको मन्त्री पद त्यागेर चिनियाँ शिक्षा र संस्कृतिको जग बसाउन आजीवन लागिपर्ने महान व्यक्तित्व कन्फ्युसियस पथ हाम्रो पथ हो । नेता आदरणीय भए पनि बेहोरा किमार्थ तदनुकूल भएन र यो सकथेराफी लेख लेखिएको हो । फायर खोल्नु पर्ने अवस्था नआओस, फायर खोल्न नपरोस 

प्रा.डा.बद्रीविशाल पोखरेल

नेकपाका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ, प्रकाश पार्टीका प्रवक्ताका वस्त्र उतारेर कुलमान घिसिङका अधिवक्ता र पार्टीका अत्यन्त संकीर्ण गुटगत अभियन्ता रुपमा सडकमा खुल्ला रुपमा देखापरेका छन । नारायणकाजीलाई प्रवक्ताको यति अग्लो पद आफ्नै प्रतिभा र परिश्रममा पाएको भए त्यसको सदुपयोग हुन्थ्यो कि ? फाउमा र अपुतालीमा पाएको सम्पत्तिको उति महत्व नभएझैँ यति ठूलो पार्टीको प्रवक्ता पद काजी कमरेडलाई अपच भएको त होइन ? भुईं तहमा व्यापक चर्चा हुन थालेको छ ।

काजीले भागबन्डामा आइलागेको पद थाम्न नसकेको हो त ? बाबुले किनिदिएको भैँसी भन्दा आफैँले किनेको दाम्लो प्यारो भनेझैँ काजी कमरेडलाई प्रवक्ता पद महत्वहीन भएको हो ? नत्र काजी ठाउँ न ठहर… रहर भनेझैँ मनलाग्दी बोल्दै हिड्ने थिएनन । उनी चुनावी अभियानमा सक्रिय हुँदा काजी कमरेडलाई विगत निर्वाचनमा सघाउ पुर्याउने हिसावले यस लेखकले लेख पनि लेखेको थियो । तर अहिले उनका गम्भीर कमजोरी देखिन थालेपछि अलि कडा लेख लेख्न बाध्य भएको पाठक समक्ष जानकारी गराउँछु । रोगीलाई निको पारी नछाड्ने डाक्टर जस्तै यो लेखकको निरन्तर सच्याउने अभियानमा लागिरहने पनि अग्रिम जानकारी गराउँछु ।

एक समय कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनर्नियुक्ति गर्नुपर्ने अनावश्यक, अनुचित, अतथ्य र अनुशानहीन गम्भीर अडान लिँदै काजी उनलाई देवत्वकरण गर्दै थिए । तर काजीले २०७२ सालमा भारतसित तत्कालीन ओली सरकारले विद्युत खरीद सम्झौता गरेर ४०० केभीए विद्युत प्राप्त भएको र राधा ज्ञवाली उर्जा मन्त्री हुँदा ३० किलोमीटरमा छ वटा विद्युत टावरसहित आवश्यक भौतिक तयारीका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ७ करोड निकासा गरिदिएर लोडसेटिङ हटाउनेलगायत तमाम पूर्वाधार तयार गरिदिएको लगायत तमाम तथ्य बहसका क्रममा लुकाए । कुलमानका वकिल नारायणकाजी सरकार विरोधी बर्दीधारी साइबर सेनालाई पूरा सघाउ पुर्याउने गरी कुलमानको चर्को बखेडा बहस गर्दै थिए । यो गम्भीर रहस्यको विषय हो ।

प्रतिनिधिसभाको निर्वाचमा जनताले मनै नपराएर हराएपछि कुन नैतिकताले राष्ट्रियसभामा काजी हत्ते हालेर सांसद हुन पुगे ? अनि जनताबाट तीव्र विरोध भएपछि प्रायोजित तरिकाले सांसदको तलब र भत्ता नलिएको प्रायोजित समाचार छाप्न लगाए ? एक झुटलाई छोप्न खोज्दा सात झुट देखापर्छ । काजी कमरेडले त्यही नाटक गरिरहेको सवैले बुझेकै छन । सभासद्को तलव भत्ता नलिएर खाना, नाना र छानाको जोहो कसरी हुन्छ काजी कमरेड ? आजीवन कुमार भएपछि ससुरालीको सहयोग र श्रीमतीको दाइजो पनि आउने कुरो भएन । अनि कसरी चल्छ, गाँस, बास र कपास ? कसरी चलिरहेको छ ? त्यसैले होला कुलमान जस्ता व्यर्थका झगडियालाई उचालेर कृत्रिम मुद्दामा बहसपैरवी गर्न कालोकोट लगाएर सडकमा अधिवक्ताको भूमिकामा काजी कमरेड देखापरेका होलान ?

त्यति मात्र होइन, काजी कमरेड कोभिड वा कोरोना प्रभावित तथा पीडित जनताको उपचार गर्ने सबाललाई पनि सरकारविरुद्ध अनावश्यक तोडमोड गर्दै थिए । सामथ्र्य हुनेले स्वेच्छिक रुपमा आफैँ उपचार गर्ने तर तिनले सक्तिन भन्नेहरुलाई सरकारले नै उपचार गरिदिने, हुनेखाने र हुँदा खाने जनताको स्थिति हेरेर राज्यले उचित न्याय गर्ने कुरा कसरी अन्याय हो ? यो समस्या विश्वव्यापी महामारी हो । नेपालको संविधानअनुसार जनताको आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको विषय मात्र होइन । तर तासका पत्ता सरह कुरा मात्र फिट्ने काजी कमरेडले आफूले पाउने तलब, भत्ता कारोना उपचारमा सहयोग गर्नेसम्मको उद्घोष नगरेर हद दर्जाको कप्ट्याइँ गरेको त स्पष्ट भयो नि । सुप्रसिद्ध गायिका आनी छोइङले तुहिन विस्थापित गर्ने ओली सरकालाई १ करोड निजी सहयोग गरिन । तर काजीहरु सरकारका सकारात्मक कामसमेत मुखले बोलेर पटक्क सहयोग नगरी उल्टो बदनाम गर्न बारबार उद्धत देखिन्छन ।

कात्तिक १६ गते पत्रकार ऋषि धमलासितको एक अन्तर्वार्तामा नेता देवेन्द्र पौडेलले नारायणकाजीसहित कतिपय नेताले उपर्युक्त विषयमा दिएको उत्तेजित र असन्तुलित विचारप्रति परोक्ष रुपमा कटाक्ष गर्दै सन्तुलित जवाफ दिएका थिए । काजी कमरेड सरकारका विरुद्ध अघाउँजी विरोध गर्न नपाएर सदा आतुर देखिन्छन । अन्तर्वार्ताका क्रममा उनी पहिले डाँको छाडेर सरकारको विरोध गर्छन अनि अन्तिमतिर सुस्त र मसिनो स्वरमा सरकारले केही नै नगरेको त होइन नि भन्छन । काजी कामरेड फेरि भारतीय गुप्तचर रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीसित भेट गरेको विषयलाई अतिशयोक्ति पूर्वक उछालेर भड्काउ कुरा गर्दै थिए । तर काजी विगत र हालै पूर्वप्रधानमन्त्रीहरुले लावा लस्कर लागेर गोप्य रुपमा रअ का प्रतिनिधिसित भेटेको विषय चाहिँ शतप्रतिशत गलत भन्दै गुटगत संकीर्ण विचार प्रवाह गर्दे थिए ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पनि उपर्युक्त विषयमा अनावश्यक विवाद गरिरहनु आवश्यक छैन भनेका छन । तर काजी कमरेड तीन बित्ता उचालिएर काकोहालो मच्चाइ रहेको देखिन्छ । भारतीय रअ प्रमुखले प्रधानमन्त्रीसित शिष्टाचार भेट गरेको विषय मा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस नोट जीवित छ । त्यसैदिन ४ बजेदेखि देखि ९ सम्म सुरक्षा बैठक बसेको अवस्था देखिन्छ । अनि शिटाचार भेटमा ओलीले स्कन्ध पुराणको सन्दर्भसहित लामै व्याख्यानसहित नेपालको भौगौलिक सन्दर्भ बताएको देखिन्छ । यस्ता यावत पक्षहरु हुँदाहुँदै काजी त किन, कसरी, धेरै समय लगाएर भेटेकोलगायत अनावश्यक अतिरन्जित विचार प्रवाह गर्दै थिए । ओलीलाई छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयहरु रहस्यमा राखेको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्याइएको आदि भनेर आरोप लगाउन काजी उद्यत देखिए ।

विप्लव माओवादी पार्टी वार्तामा पनि नआउने आए पनि आलटाल गर्ने तर हिंसात्मक तथा आतंककारी गतिविधि गरिरहने अवस्थालाई सरकारले नियन्त्रण गरेको हुँदा उद्योग व्यवसायीले ठूलो राहत पाएका छन । तर सुरुमा तपाईंहरु यही विषयमा सरकारप्रति अत्यन्त नकारात्मक हुनुहुन्थ्यो तर परिणाम सही र सकारात्मक देखेपछि चुप्प हुनुभएको छ । सिके राउतका बारेमा पनि भीम रावललगायत तपाईंहरु तेलमा परेको पानी जस्तो जग हँसाउने गरी सरकारका विरुद्ध सडकमा उफ्रिनु भयो तर परिणाम सही देखेपछि बोली बन्द गर्नुपर्ने अवस्थामा पुग्नुभयो । यस्ता कुरा धेरै बार भएका छन । अलि अघि भारतले गरेको नेपाल नाकाबन्दीविरुद्ध चट्टानी अडान राख्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध होटल हार्दिक, काठमाडौंमा नेता सुरेन्द्र पाण्डेले धज्जी उडाउने हिसाबले बोलेका थिए तर परिणाम सकारात्मक अनुभूत गरेपछि पाण्डेले सिर निहुराउनु परेको थियो । तर पनि उनी अहिले पनि ओलीविरुद्ध अनेक गुप्त गतिविधि गरिरहेका छन् ।

काजी कमरेड पार्टीको अति संकीर्ण गुटगत अभियन्ताका रुपमा देखापरेका छन । उनले २०७७ साल बैशाख २२ गते आफ्नै निवास हात्तीवनमा गुट पक्षधरहरु भेला गराएर सरसल्लाह पूर्वक अनेक बखेडा झिकेर सरकारका विरुद्ध ज्यान फ्यालेर लागेको सत्य तथ्य देखिन्छ । वरिष्ठ लेखक तथा संस्कृतिविद् निनु चापागाईंले काजी कमरेडका बारेमा लेखे भनेका यथार्थ सत्य यस लेखकलाई थाहा छ तर अहिले ती कुरा छाडौँ । नारायणकाजी कमरेड कहिले पार्टीको अन्तरिम विधानको मर्मविपरीत पार्टी विधि, पद्धतिअनुसार नचलेको, व्यक्ति हाबी भएको भन्ने कुरा गर्छन । कहिले अध्यक्ष प्रचण्डले आफूले आलोपालो प्रधानमन्त्री हुने पूर्वसहमति त्यागेर गल्ती गरेँ भनेको घामजत्तिकै छर्लङ्ग विषयलाई ढाकछोप गर्छन र स्थायी समितिको विवाद पद प्राप्तिमा केन्द्रित विवाद होइन भनी सरासर झुट बोल्छन । अनि यसलाई सैद्धान्तिक वैचारिक लेपन लगाएर छोप्न उद्यत हुन्छन ।

काजी कमरेड कहिले ओली सरकारले काम त गरेको तर आम श्रमजीवी जनताको गाँस, बास र कपासलगायत गर्नैपर्ने काम नगरेको वा समाजवाद नल्याएको बात बताउँछन । निरपेक्ष रुपमा ओली सरकार र नेतृत्वविरुद्ध बारबार बोल्छन । काजी कमरेडका बारेमा प्रभावशाली युवा नेता महेश बस्नेतले एकटीभी अन्तर्वार्तामा सत्य तथ्य उल्लेख गरेका छन । आफ्नै सरकार र प्रधानमन्त्रीलाई अनेक बहानामा पासो बोकेर हिँडे पनि त्यो पासो आफ्नै गलपासो भएको देखेर पनि अझै चेतेको स्थिति देखिन्न । बहुमतका आडमा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा मागेको अनावश्यक बखेडा विषय घुमीफिरी रुम्जाटाहार भएको भोगेर पनि चेत आए जस्तो देखिन्न । यही विषयमा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सौर्य पत्रिकामा विवादित बैठकको यथार्थता शीर्षक लेखमार्फत जानकारी गराएका छन् ।

सरकार र प्रधानमन्त्री ओलीले गर्न खोजेका हर काममा खोचे थाप्नु काजी कमरेडहरुको धर्म भएको छ । सरकारले अढाइ वर्षमा भूकम्पपीडित र प्रभावित तथा बारापर्सामा सुनामीबाट विस्थापितलगायत जनताका लागि ५ लाख आवास निर्माण गरिदिएको कहीँ कतै सुन्नुभएको थियो काजी कमरेड ? भारतबाट पाइप लाइनबाट पेट्रोलीयम पदार्थ आयात गर्दा देशलाई वार्षिक कति करोड नाफा भयो थाहा छ ? तपाईंलाई ? रानीपोखरी उद्घाटन भयो, हेर्न जानुभयो ? आधुनिक धरहरा निर्माण सम्पन्न हुँदैछ थाहा छ ? यही सरकारले कतिवटा पुलपुलेसा, पिच, अन्तराष्ट्रिय एयरपोर्टलगायत अनेक काम गरेको छ, सुन्नुभएको छ ? स्थायी समिति सदस्य युवराज ज्ञवाली पनि काजी कमरेड जस्तै फेक र पेड मिडियाका भरमा सरकारविरुद्ध आक्रोश व्यक्त गर्दै थिए । रिस खा आफू भनेझैँ गर्नुहुँदैन, आफैँलाई हानी हुन्छ । परिणाम नहरी प्रारम्भमै आवेशमा उफ्रिदा आफैँ भुइँमा थेचारिने डर हुन्छ ।

मानवीय स्वभाव हो, यस्तो हुन्छ तर आफूले आफैँलाई सच्याउनु पर्छ । नेता माननीय, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति तपाईंहरु नै हुने हो । हामी त कारमा होइन। कलम, किताब र कपीमा गर्व गर्ने मान्छे हौँ । हामी पद भन्दा प्रतिष्ठालाई महत्व दिन्छौँ, भात भन्दा भविष्य हेर्छौं । महाराजले प्रदान गरेको मन्त्री पद त्यागेर चिनियाँ शिक्षा र संस्कृतिको जग बसाउन आजीवन लागिपर्ने महान व्यक्तित्व कन्फ्युसियस पथ हाम्रो पथ हो । नेता आदरणीय भए पनि बेहोरा किमार्थ तदनुकूल भएन र यो सकथेराफी लेख लेखिएको हो । फायर खोल्नु पर्ने अवस्था नआओस, फायर खोल्न नपरोस । तपाईहरुले सडक भरी थुपारेको र छरेको फोहोर फ्याल्न युवा हस्तीहरु नवीना लामा, रमेश पौडेल र ऐन महरलाई भ्याइनभ्याइ भएको देखिन्छ । केही गर्न सकिन्न भने कम्तीमा उल्झाउने र बल्झाउने काम नगरौँ । काम गर्नेलाई स्याबास भन्न नसके पनि सदा सर्वदा सरापेर समय खेर नफालौँ कमरेड ।