काठमाडौं, कात्तिक २४
कुमारी बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासमा ६० करोड २५ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा देवः विकास बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार गरेको बैंकको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिभन्दा ४९.८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड १९ लाख ८९ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड ९१ लाख ३२ हजार रहेको छ ।
कोभिड १९ को प्रभावको बाबजुत पनि बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्दा आएको सिनर्जीलगायतको कारण बैंकको नतिजामा सकारात्मक प्रभाव देखिएको छ । बैंकको खुद बयाज आम्दानीमा भएको वृद्धि तथा प्राभिजन रकम साढे चार करोडभन्दा बढीले घटेको कारण कमिसान आम्दानी घट्दा पनि सञ्चालन आम्दानी भने बढेको छ । अर्कोतर्फ बैंकको कोषको लागत घट्दा त्यसको प्रभाव पनि आम्दानीमा देखिएको छ ।
पहिलो त्रैमासमा बैंकले एक अर्ब ३१ करोड ५६ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४३.२४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाका लागि गरेको प्रोभिजन पनि घटेको छ ।
गत आवको पहिलो त्रैमासमा ६ करोड ९५ लाख ५६ हजार प्रोभिजन गरेको बैंकले यो आवको सोही अवधिमा एक करोड ३४ लाख ७५ हजार मात्रै प्रोभिजन गरेको छ । जसले गर्दा बैंकको बैंकको सञ्चालन मुनाफा बढाउन थप मद्दत गरेको छ । असोज मसान्तसम्ममा बैंकले ८६ करोड ५ लाख एक हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५६ करोड ६२ लाख ९४ हजार रहेको थियो ।
१२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ५९ करोड ४३ लाख ३९ हजार र सञ्चित कोषमा एक अर्ब ६७ करोड ४ लाख २५ हजार रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेकाले प्रस्तावित लाभांश वितरणपश्चात बैंकको सञ्चित कोष घट्नेछ । जसको प्रभाव प्रतिसेयर नेटवर्थ र आम्दानीमा पनि पर्नेछ ।
बैंकले असोज मसान्तमा एक खर्ब १७ अर्ब दुई करोड ६० लाख १८ हजार निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ३२ करोड ५२ लाख ६८ हजार कर्जा लगानी गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ६० हजार कर्जा लगानी गरेको थियो ।बैंकको निष्क्रिय कर्जा बढेर १.४२ प्रतिशत पुगेको छ ।
गत वर्ष बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात १४.९३ प्रतिशत छ । त्यस्तै कोषको लागत ६.२८ प्रतिशत, आधार ब्याजदर ८।४ प्रतिशत र ब्याजदर अन्तर ४.३६ प्रतिशत छ । बैंकको सीसीडी रेसियो ७५.३१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसामा छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात ११.५८ गुणा छ ।
प्रतिक्रिया दिनुहोस्