वासिङ्टन डिसी (अमेरिका), कात्तिक ३० । अमेरिकी राष्ट्रपती निर्वाचनको परिणामलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र बिपक्षी समुहबीच झडप भएको छ । चुनावमा पराजित हुनुभएका ट्रम्पको सर्मथनमा निकालिएको र्यालीमा झडप भएको हो । निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको दाबीको समर्थनमा आएका उहाँका समर्थक र राष्ट्रपति निर्वाचित जे बाइडेनका समर्थकबीच वाशिङ्टनमा झडप भएको समाचार हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार वासिंटनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको छ । समाचार अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए ।
अमेरिकाको राष्ट्रपतिमा बाइडेन बिजयी भइसक्नु भएपनि ट्रम्पले धाँधली भएको भन्दै परिणाम अस्वीकार गर्दै आउनु भएको छ । निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भएको घोषणा गरेका छन । वासिङ्टन झडपलाई राष्ट्रपति ट्रम्पको मुर्खताको परिणामका रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्