जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १९:२५

कांग्रेसलाई चीनको पत्र, उठायो गम्भीर सवाल


काठमाडौं, मंसिर १९ । छिमेकी मित्रराष्ट्र चीनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पत्र लेखेको छ । उत्तरी सीमा मिचेको भन्दै नेपाली कांग्रेसले चीनमाथि लगातार प्रश्न उठाइरहेको बेला नेपालस्थित चिनियाँ दूताबासले कांग्रेसलाई चार पृष्ठ लामो पत्र लेखेको हो । कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको आरोप लगाउँदै आएको छ । सोही बिषयमा चीनले उसलाई पत्र लेखको हो ।

‘नेपाली कांग्रेस कर्णाली प्रदेशका सभासद् जीवनबहादुर शाहीले चीनले नेपाली भूमि मिचेको दोष लगाउँदै लगातार दाबी फैलाएको कुरा काठमाडौस्थित चिनियाँ दुतावासको सूचनामा आएको छ । सांसद शाहीको दाबी र आरोप आधारहीन र असत्य हो भन्ने कुरा यस अगाडि नै भेरीफाई र कन्फर्म भइसकेको छ,’ चिनियाँ दूताबासले कांग्रेसलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसका एक सभासदले गरेको सो गैरजिम्मेवार र अमैत्रीपूर्ण कार्यप्रति चिनियाँ दुतावास खेद प्रकट गर्दै गम्भीर चासो व्यक्त गर्दछ । विगत ६० वर्षदेखि चीन–नेपाल सीमा वैज्ञानिक र व्यवसायिक व्यवस्थापन अन्तर्गत रहेको छ र सीमामा शान्ति र स्थायित्व कायम भएको छ । शाहीको आरोपपछि चिनियाँ पक्षले फिल्ड सर्वे र अनुसन्धानका लागि धेरै विज्ञ टिमहरु पठाएको छ ।’

दुतावासले पठाएको पत्रमा आफूहरुमाथि लगाइएको आरोपपछि फिल्डमै टीम पठाउँदासमेत त्यस्तो नपाइएको प्रष्ट पारिएको छ । ‘सो अध्ययनबाट के पत्ता लागेको छ भने चीनले निर्माण गरेको भनिएका ९ भवन नजिकको वोर्डरलाइनबाट १.०४ किलोमिटर टाढा रहेको छ र यी भवनहरु स्पष्टरुपमा चिनियाँ भूभागभित्र नै रहेका छन् । १२ नम्बर पिलर स्पष्टरुपमा जहाँ हुनुपर्ने हो, त्यहीँ रहेको छ र सीमा सम्झौता र प्रोटोकलमा भएको संयोजन अन्तर्गत छ र सन् १९६२ मा दुई मुलुकले पिलर निर्माण गरेयता एकपक्षीयरुपमा पिलर गाढ्ने र हटाउने कुनै पनि काम भएको छैन् । यस सम्बन्धमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २३, २०२० नेपालको नापी विभागले गरेको व्यवसायिक अनुसन्धान र विश्लेषणका आधारमा एक प्रेस विज्ञप्ति मार्फत स्पष्ट धारणा व्यक्त गरिसकेको छ ।’

पत्रमा सांसद शाहीको कथित अभिब्यक्ति नेपाल र चीनबीच समस्या पैदा होस भन्ने गलत मनसायका साथ आएको आरोपसमेत लगाइएको छ । ‘चिनियाँतर्फबाट यो पनि स्पष्ट पारिसकिएको छ कि शाहीकोकथित अवलोकनका क्रममा चिनियाँ पक्षले न त पिलर नं १२ मा कुनै व्यक्ति पठाएको छैन, न त शाहीले दाबी गरेजस्तो चिनियाँ पक्षले कुनै अश्रु ग्याँस हानेको छ । त्यसै गरी नेपालको सशस्त्र प्रहरीले पिलर नजिकै गस्ती गर्दा शाहीले भनेजस्तो चिनियाँ पक्षले कुनै ढुंगा हानेको छैन । त्यसैगरी सीमा क्षेत्रमा नेपाली कृषकले काम गरिरहँदा र गाईबस्तु चराउने त्यहाँ क्षेत्रका बासिन्दालाई तितर–बितर पारिएको छैन ।’

पत्रमा नेपाल र चीनबीचको सुमधुर सम्बन्धबारे पनि स्मरण गराइएको छ । ‘चीन र नेपाल असल साथी र छिमेकी हुन् । चीनले जहिले पनि नेपालको सार्वभौसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको छ । दुवै मुलुकले मित्रवत परामर्शका आधारमा सन् १९६० को शुरुमा सीमासम्बन्धी प्रश्नहरु समाधान गरेका हुन्, जसमा नेपाली कांग्रेसले एकदमै ठूलो पहल र योगदान गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री वीपी कोइरालाले सीमासम्बन्धी चीनसँगको विषयमा एक सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसले नेपाल र चीनको वीचमा मित्रवत सम्बन्धको विकासको ठोस आधार खडा गरेको थियो । त्यसबेलादेखि नै सीमाका मामिलामा नजिकको सम्पर्क र समन्वयका लागि संयन्त्रको निर्माण गरेको छ । पहिलको व्यवसायिक सीमा सम्झौता, प्रोटोकलको आधारमा दुवै देशका व्यवसायिक अधिकारीहरु केही सीमाको फिल्डमा देखिने एलाइनमेन्ट र अन्य विषयहरु जहाँ देखिएपनि समाधान गर्न सक्षम छन् । नेपाल र चीनको विचमा कथित सीमा मिचिएको भन्ने कुनै पनि विषय छैन् । बरु चीन–नेपाल सीमा दुवै देशको विचको मित्रता र सहकार्यको बन्ड बनेको छ ।’

पत्रमा नेपाल चीन मित्रवत सम्बन्धको बिषयमा कांग्रेस दह्रोसँग उभिने अपेक्षा पत्रमा गरिएको छ । ‘चिनियाँ दुतावास के कुरामा आशावादी छ भने हामी दुईवीचमा रहेको लामो मित्रवत् सम्बन्धलाई जोगाउन नेपाली कांग्रेस दह्रोसँग उभिनेछ र दुई पक्षीय सम्बन्धलाई बिगार्ने यस्ता आधारहीन र गैरजिम्मेवार अभिव्यक्ति दिनबाट पार्टी नेतालाई संयमित बनाउने छ । चिनियाँ पक्ष नेपाली नेपाली कांग्रेससँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनका लागि सहकार्य गर्न र दुवै देशलाई हितको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार छ,’ पत्रमा भनिएको छ ।