जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १४:५९

ग्लोबल आइएमई बैंकको ‘कर्पोरेट पे’ प्रणाली सुरू


काठमाडौं, मंसिर २५

ग्लोबल आइएमई बैंकले पनि ‘कर्पोरेट पे’ प्रणाली शुरु गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् । त्यस्तै, उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

यस प्रणालीमा पहुँच पाउन multi-layer authenticatio को सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ ।

यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ । यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको जनाइएको छ ।