जनता टाइम्स

८ पुष २०७७, बुधबार १९:१३

भित्ते राष्ट्रपतिपछि भित्ते दलको नेता बने प्रचण्ड : जवज त्यागेर माधव नेपालले स्वीकारे अभिभावक


काठमाडौं, पुस ८ । चरम पदलोलुपताको बिधानबिपरित भेला गरेर पार्टी बिभाजन गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल (मार्चण्ड) गुटले संसद बिघटन भइसकेपछि संसदीय दलको नेता चयन गरेको छ । मार्चण्ड गुटले हुँदै नभएको संसदमा पहिलो बरियताका अध्यक्ष प्रचण्डलाई आज संसदीय दलको नेता चयन गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भइसकेको छ । सो घोषणाबिरुद्ध मार्चण्ड गुट नै सर्वाेच्च अदालत गएको छ । तर अदालतले अन्तरिम आदेश नदिई सो समुहको माग पूरा नहुने प्रष्टै संकेत गरेको छ । मार्चण्ड समुहले बिघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक आज राखेर प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

बैठकमा दोस्रो बरियताका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड आफूहरु सवैको अभिभावक रहेको र हाल एकब्यक्ति एक पद मात्रै रहेको कारण दुई पद कायम गरी पहिलो बरियता प्रमाणित गर्न संसद नै नरहे पनि संसदीय दलको नेता बनाइयोस भन्ने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावलाई झलनथ खनालसहितका अन्य बिघटित प्रतिनिधिसभाका सदस्यहरुले सहमति जनाउनु भएको छ ।

दश बर्ष जनयुद्ध गरी १७ हजार मानिस मारेपछि शान्ति प्रक्रियामा आउनुभएका प्रचण्डले यसअघि संबिधान र कानूनले नचिन्ने यस्तै अर्काे पदको उपाधी हासिल गर्नुभएको थियो । प्रचण्डले यसअघि भित्ते राष्ट्रपतिको उपाधी ग्रहण गर्नुभएको हो । आज संसद नै नभएको संसदीय दलको नेता बन्नुभएको हो । ‘संसद बिघटन भइसकेको छ, हाम्रो अध्यक्ष आजबाट पहिला भित्ते राष्ट्रपति बने जस्तै हुदै नभएको संसदीय दलको नेता भन्दै भित्ते दलको नेता बन्नुभएको छ, माधवले अभिभावक त स्वीकार गर्नुभयो, तर उहाँलाई फेरि भित्ते नै बनाइ दिनुभयो,’ मार्चण्ड गुटका भेलामा पुगेका एक निवर्तमान सांसदले जनताटाइम्ससँग भने ।

उनका अनुसार बैठकले संबिधान र कानूनले नभई आफूहरुको आदेशअनुसार मुलुक चल्ने भन्दै संसद बिघटन नभएको निर्णय लिएको छ तर तत्काल संसद बैठक बसाउन माग पनि गरेको छ । माग कसलाई गरेको हो ? त्यो भने खुलाएको छैन । भित्ते दलको नेता बनेपछि प्रचण्डले विघटित प्रतिनिधिसभा पुनःस्थापित गरेर नयाँ सरकार बनाउने भन्दै जगहसाई गर्नुभयो । उहाँले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्ने असंभव घोषणा पनि गर्नुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नमा मैले लगाउने छु, जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै र माननीयको विश्वास लिँदै संसदलाई जीवित राख्न, त्यहाँबाट जनता र राष्ट्रको पक्षमा मैले सबै तागत लगाउने छु, मलाई विश्वास छ अन्ततः हामी सफल हुनेछौं,’ प्रचण्डको भनाई थियो ।

आजको मार्चण्ड समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको घोषणा गरेको थियो । बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी भएको बताइए पनि ८३ जना मात्रै रहेका थिए । बिघटित प्रतिनिधिसभामा नेकपाका १७४ र राष्ट्रिय सभामा ४९ जना सांसद रहेका छन ।