काठमाडौं, पुष २०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत पुग्नु भएको छ । उहाले स्थानीय समयअनुसार पौने १ बजे इन्दिरा गान्धी इन्टरनेश्नल एयरपोर्टमा अवतरण गर्नुभएको थियो ।
सीताको उपचार मुम्बईमा हुने भएपनि काठमाडौंबाट सिधा उडान नभएकाले नयाँदिल्ली पुग्नु भएको छ । पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट सीता लामो समयदेखि पीडित हुनुहुन्छ । उहाको केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ।
दाहालको सचिवालयले सिताको इच्छाअनुसार उहा भारत जानु भएको जानकारी दिएको छ । तर, स्रोतका अनुसार उपचारकै क्रममा प्रचण्डले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । उहा कति दिन भारतमा बस्ने भन्ने टुंगो लागेको छैन । राजनीतिक भेटवार्ता भए उहा मंगलबार साँझ नभए बुधबार स्वदेश फर्किने तयारी छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्थामा भारतको साथ चाहिएको भनेर उहाले खुल्ला रुपमा समर्थन माग गरिरहेका बेला उहा भारत पुग्नु भएको छ । नेपालको आन्तरिक हस्तक्षेपमा भारतलाई गुहारेपछि प्रचण्डले आलोचना समेत खेपिरहनु भएको छ । प्रचण्डको साथमा उहाकी छोरी पनि जानु भएको छ ।
प्रतिक्रिया दिनुहोस्