जनता टाइम्स

२१ पुष २०७७, मंगलवार ०९:५३

बिना मगरले छाडेलगत्तै मेलम्चीको पानी काठमाडौंमा उपत्यकामा व्यवस्थित वितरण गर्ने योजना तयार


काठमाडौं, पुस २१ । खानेपानी मन्त्रालयबाट बिना मगर हटेसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बहुचर्चित मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ सबैतिर चुहावट कम गरेर वितरण गर्ने गरी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको केयूकेएलले जनाएको छ ।

यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार केयुकेएलले खानेपानी वितरणका लागि बनाएको तालिकामा मन्त्रालय र बोर्ड सहमत भइसकेका छन। उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

‘एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ, त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ,’ शाक्यले भन्नुभयो । उहाँका अनुसार पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको छ । केयुकेएलले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो ।

अहिले पनि पुरानो पाइपमा चुहावट खोज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जनाएको छ । अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा रहेको छ । पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ ।

पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ । खानेपानी मन्त्रालय र आयोजनाले सुरुङमा रहेका त्रुटी हटाइसकेर छिट्टै परीक्षण गर्ने गरी तयारी अघि बढाइरहेको छ । मेलम्ची आयोजना ढिला गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले मन्त्री रहेकी बुहारी बिना मगर मार्फत अभियान चलाउनु भएको थियो । प्रचण्डकी बुहारी हटेसँगै मेलम्चीको काम पनि निर्वाध अघि बढेको छ ।