जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार ०८:४०

रामदेव फेरि विवादमा, पक्राउ गर्न चर्काे दवाव


काठमाडौं, जेठ १५ । भारतमा योगगुरु रामदेव फेरि विवादमा पर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिनु भएका रामदेव पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा तानिनु भएको हो ।

हालै मात्र रामदेवले एक अभिव्यक्तिमा आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताउनु भएको थियो । साथै अक्सिजन सिलिण्डर पाउने प्रयास गरिरहेका मानिसहरुको मजाक उडाइएको थियो । भारतको स्वास्थ्य मन्त्रालयको आलोचनापछि रामदेवले उक्त अभिव्यक्ति हटाए पनि आधुनिक औषधिमाथिको प्रहारलाई भने जारी राख्नुभयो । उहाँले केही रोगमा औषधिले काम नगरेको भन्दै आधुनिक औषधिको विरोध गर्नुभएको थियो ।

भारतको स्वास्थ्य प्रणालीको लागि आधुनिक र विज्ञानमा आधारित औषधि मेरुदण्डको रुपमा रहँदै आएको छ । तर, भारतमा वैकल्पिक आयुर्वेद र होमोप्याथी पनि निकै लोकप्रिय छ । रामदेवजस्ता धेरै गुरुहरुको आयुर्वेदिक औषधि र अन्य उत्पादनहरु बिक्री गरेर राम्रो व्यवसाय छ । रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको आरोप लगाउनु भएको थियो । भारतमा लाखौं मानिसको मृत्यु आधुनिक उपचार पद्धतिको कारण भएको रामदेवको भनाई थियो ।

भारतका चिकित्सकहरुको संगठन इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले महामारीको बीचमा ‘संवेदनहीन’ अभिव्यक्ति दिएको भन्दै रामदेवको आलोचना गरेको छ । चिकित्सकहरुले रामदेवको अभिव्यक्ति गैर जिम्मेवार र हतोत्साहित बनाउने किसिमको रहेको बताएका छन् ।

मे महिनाको शुरुआतमा रामदेवको अक्सिजन खोजिरहेका मानिसहरुमाथि मजाक गरिरहेको भिडियो भाइरल भएको थियो । अहिलेसम्म उक्त अभिव्यक्ति उनले कहिले दिएका थिए भन्ने स्पष्ट भएको छैन । यद्यपि उहाँले गत अप्रिल र मे महिनामा भारतका केही सहरमा अक्सिजन अभाव भएको सुनेको बताउनु भएको थियो । ‘ईश्वरले हामीलाई निःशुल्क अक्सिजन दिएका छन्, हामीले किन त्यसलाई लिन सकिरहेका छैनौं ? ईश्वरले वायुमण्डलमा नै अक्सिजन भरेर दिएका छन् भने यसको अभाव कसरी हुन सक्छ ? मूर्खहरु अहिले अक्सिजन सिलिण्डर खोजिरहेका छन् । निःशुल्क अक्सिजन लेऊ । किन अक्सिजन छैन, बेड छैन, श्मसान छैन भनेर गुनासो गर्छौ ?’ भिडियोमा रामदेवको भनाई थियो ।

रामदेवको उक्त भिडियो भाइरल भएपछि यस विषयमा उनले यस विषयमा माफी माग्नुपर्ने आवाज उठेको थियो । त्यसको दुई सातापछि अर्को एक भिडियो सार्वजनिक भएको थियो । जसमा रामदेवले चिकित्सकहरुको आलोचना गर्दै कोरोनाबाट मानिसहरुको मृत्यु हुनुमा उनीहरु दोषी रहेको आरोप लगाउनु भयो । यो अभिव्यक्तिपछि धेरैले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रामदेवलाई पक्राउको माग गरेका छन ।