जनता टाइम्स

७ असार २०७८, सोमबार १७:४२

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाखलाई कोरोनाविरुद्धको खोप लगाइदिने


दोहा, असार ७

कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ। कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउनेमध्येका १० लाखलाई कोरोनाविरुद्धको खोप दिने जानकारी दिनुभयो । तर, खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उहाँले खुलाउनुभएको छैन । कोरोनाविरुद्धको खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेश गर्न अनुमति नपाइने भएकाले खोप दिने विषयमा कम्पनीहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ।

‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाइसकेका हुनेछन्। यद्यपि, केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्। हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ उहाँले भन्नुभयो । कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ।

कतारले कोरोना महामारीमा पनि विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन। फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ। यद्यपि, कतारले भविष्यमा आउनसक्ने कोरोनाको तेस्रो लहरलाई नियन्त्रण गर्न खोप अभियानलाई तीव्रता दिएको छ। कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन्।

कोभिड–१९ राष्ट्रिय रणनीतिक समूहका अध्यक्ष एवं हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल–खालका अनुसार कतारका ६० प्रतिशतलाई नागरिकलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज र ४६ प्रतिशतलाई दुबै डोज लगाइसकेका छन्। ‘हामी कोरोनाविरुद्धको लडाइँमा विजयको बाटोमा छौं। यद्यपि, कतारको वैधानिक जनसङ्ख्याको ४० प्रतिशतले अझै खोप प्राप्त गर्न बाँकी छ। ८० देखि ९० प्रतिशतले खोप नलगाउँदासम्म संक्रमण फैलने डर यथावत् रहन्छ,’ उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा कोरोना हालको अवस्था नियन्त्रणमा रहेको छ। दैनिक संक्रमण दर, अस्पताल भर्ना तथा सघन उपचार आवश्यक पर्ने बिरामीको दरको आधारमा कतार पुनः पहिलेको अवस्थामा फर्कन लागेको बताइएको छ। कोरोनाको दोस्रो लहर व्यापक रुपमा फैलन लागेलगत्तै लगाइएको प्रतिबन्ध तथा खोपलाई बिस्तार गरिएको कारणले महामारी नियन्त्रणमा सफलता मिलेको खालले बताउनुभयो । कतारमा अहिले पूर्णरूपमा कोरोनाविरुद्ध खोप लिएका १० जनाले इन्डोर जमघट गर्न पाउने छन्।

कुनै एक व्यक्तिले मात्र खोप नलिएको खण्डमा भने ५ जना व्यक्ति मात्रै त्यस्तो इन्डोर जमघट हुन सक्नेछन्। खोपको दुबै डोज लिएका २० जनासम्मलाई आउटडोर भेटघाटका लागि अनुमति दिइएको छ। खोप नलगाएका व्यक्तिको लागि इन्डोरमा हुने सामूहिक भेटघाट प्रतिबन्ध लगाइएको छ। तर, आउटडोरमा भेला हुन आवश्यक भएमा पाँच जनासम्म जम्मा हुन पाउनेछन्। एकै घरमा बस्ने एउटै परिवारका सदस्य त्यसरी जमघट गर्नुपर्दा १० जनासम्म सँगै पार्कमा जम्मा हुन सक्नेछन्।