जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार ०८:४१

सामुदायिक विद्यालयका शिक्षकलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाऔँ : शिक्षा मन्त्रालय 


काठमाडौंं, १ जेठ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको मनोबल उच्च बनाएर काम गर्ने वातावरण मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

शिक्षक कर्मचारी आन्दोलनमा संलग्न केही शिक्षकहरू माथि स्थानीय तहका जनप्रतिनिधिले पूर्वाग्रही व्यवहार गरेको भन्ने सूचना आएपछि मन्त्रालयले उहाँहरूलाई उच्च मनोबलका साथ काम गर्ने रचनात्मक वातावरण सिर्जना गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनमा सहमति गरेर शिक्षक कर्मचारी काममा फर्किसकेकालाई पठन पाठनको लागि उपयुक्त वातावरण सिर्जना गरिदिन मन्त्रालयले अनुरोध गरेको छ । ‘शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सुचारु गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ’, मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सामुदायिक विद्यालयमा हिउँदे वा वर्षे बिदाको अवधिमा पनि पठनपाठन सञ्चालन गर्न पनि शिक्षकहरूलाई आग्रह गरेको छ । शिक्षक कर्मचारी आन्दोलनका कारण क्षति भएको पढाइलाई पुरा गर्न बिदाको समयमा पनि पठनपाठन सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले शिक्षक महासङ्घले समे यस विषयमा प्रतिबद्धता जनाएकोले सोही अनुसारको व्यवस्था मिलाउन आग्रह गरेको छ । ‘प्रणालीमा गुमेको अवसरको क्षतिपूर्ति स्वरूप विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न महासङ्घको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरिन्छ’, विज्ञप्ति उल्लेख छ ।