काठमाडौं, जेठ २ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने घोषणा गर्नुभएको छ ।
‘हिजो (बुधवार) बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो घोषणा गर्नुभएको हो । हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको हो,’ शाक्यले प्रष्ट पार्नुभयो ।
बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।
‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ,’ शाक्यले भन्नुभयो, ‘करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो ।
मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन ।’
विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको पनि उहाँले बताउनु भयो ।
बेलुका ८:८ मा ढल्केवर मुजफरपुर ४०० केभी लाइनको समस्या समाधान भइ उक्त लाइनको सर्किट-२ सञ्चालनमा आएपछि आपूर्ति सहज हुँदै आएको उनले बताए । तर, ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनमा रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुगेकाले सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्याउन नसकिएको शाक्यले जानकारी दिनुभयो ।
प्रबन्ध निर्देशक शाक्यले आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन, मध्यम र दीर्घकालीन योजना बनाइने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्