जनता टाइम्स

७ असार २०७६, शनिबार १४:४७

उपत्यकाको विकासमा यसरी हुदैछ प्रगति, यी हुन् १४ काम


काठमाडौं ।

काठमाडौँ उपत्यका वरिपरिका नगरपालिकाले एकीकृत विकासका लागि ठूला योजना सञ्चालन गर्न थालेका छन् । ससाना र टुक्रे योजनाले नगरपालिकाको एकीकृत विकास सम्भव नहुने देखिएपछि उनीहरूले बढी बजेटका योजना सञ्चालन गर्न थालेका हुन् ।

ठूला आयोजना न्यूनतम ५० लाखदेखि अधिकतम पाँच करोड रुपियाँसम्मका छन् । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पहिलो वर्ष भने पुरानै शैलीमा योजना निर्माण गरेका यी नगरपालिकाले दोस्रो आर्थिक वर्षदेखि भने ठूला योजना सञ्चालन गर्न थालेका हुन् ।

नगरपालिकाको आन्तरिक स्रोत, सङ्घ र प्रदेश सरकारसमेतको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन थालेका छन् । अबको चार वर्षभित्र सञ्चालित सबै योजना सम्पन्न हुने र नगरपालिकाको समग्र विकासमा सहयोग पुग्ने दाबी गरिएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ भन्नुहुन्छ, “ठूला आयोजनाले समग्र विकासमा सहयोग पु¥याउँछ । ”

काठमाडौँका १० वटा, भक्तपुर र ललितपुरका दुई÷दुईवटा गरी १४ वटा नगरपालिका उपत्यकामा छन् । सहरोन्मुख ती क्षेत्र अधिकांश नयाँ नगरपालिका पनि हुन् । ती नगरपालिकाले गुरुयोजना र पाँचवर्षे रणनीतिक योजना शीर्षकमा ठूला आयोजना सञ्चालन गरेका हुन् । योजनाहरू मुख्यतः पर्यटन, सांस्कृतिक सम्पदाको विकास तथा पूर्वाधार निर्माण, खानेपानी, हरेक बस्तीमा पहिलो चरणमा ग्राभेल सडक र दोस्रो चरणमा सडक पिच गर्ने गरी योजना सञ्चालनमा केन्द्रित छन् । त्यस्तै नगरपालिका क्षेत्रको सार्वजनिक जग्गा संरक्षण, स्थानीय तहमा भएका स्रोतसाधनको सदुपयोग, स्वच्छ सफा हराभरा नगर निर्माणलगायतका योजना सञ्चालन गरिएको उनीहरूले जानकारी दिएका छन् । अधिकांश नगरपालिकाले बहुवर्षे क्रमागत योजना शीर्षकमा ठूला योजना सञ्चालन गरेका छन् ।

चन्द्रागिरिमा भ्यु टावर

काठमाडौँको चन्द्रागिरि नगरपालिकाले पर्यटकीय पूर्वाधारका लागि वडा नं। १ दहचोकमा एक करोड ५० लाख रुपियाँको लागतमा भ्यु टावर निर्माण गर्दै छ । एक वर्षभित्र योजना सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्यस्तै खानेपानी पाइप वितरणका लागि वडा नं। १३ मा ५० लाखको योजना सञ्चालन भएको छ । वडा नं। ८ मा पार्क निर्माण हँुदै छ । उक्त पार्क निर्माणका लागि पनि ५० लाख रुपियाँ विनियोजन भई काम भइरहेको र एक वर्षमा सबै योजना सम्पन्न गर्ने लक्ष्य नगरपालिकाको छ ।

बूढानीलकण्ठको प्राथमिकता खानेपानी र पार्क

काठमाडौँकै बूढानीलकण्ठ नगरपालिकाले वडा नं. ३, ५, १० र ११ लाई केन्द्रित गरी एक करोड ५० लाख रुपियाँको लागतमा खानेपानी वितरणको काम गरिरहेको छ । नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणका लागि पनि एक करोड ५० लाख रुपियाँ नै छुट्याइएको छ ।

दक्षिणकालीमा बृहत् खानेपानी

काठमाडौँको दक्षिणी भेगमा रहेको दक्षिणकाली नगरपालिकाका वडा नं। ५, ६ र ९ लाई केन्द्रित गरी पाँच करोड रुपियाँको लागतमा बृहत् खानेपानी योजना सञ्चालन भइरहेको छ । तीन करोड रुपियाँको लागतमा निर्माण हुन लागेको क्रमागत योजना शीर्षकमा रहेको यो योजना दुई वर्षमा सम्पन्न भइसक्ने लक्ष्य छ ।
त्यस्तै दुई करोड रुपियाँको लागतमा दक्षिणकाली चक्रपथ निर्माण हुँदै छ । चाल्नाखेलदेखि चम्पादेवीको पाउ हुँदै टल्कु–छैमले जोड्ने १७ किलोमिटर दूरीमा उक्त चक्रपथ निर्माण हुन लागेको हो ।

कीर्तिपुरमा युद्ध पार्क

कीर्तिपुरको वडा नं। १ र १० को सिमानामा एक करोड रुपियाँको लागतमा युद्ध पार्क निर्माण भइरहेको छ । त्यस्तै विश्व राष्ट्र स्कुल ढल्पा–छुगाउँ सडक विस्तार योजना एक करोड १० लाख रुपियाँमा सम्पन्न हुने क्रममा छ । असार मसान्तभित्र यो योजना सम्पन्न भइसक्ने छ । रारा हिल स्कुल जगोल–टौदह सडक विस्तार गर्ने काममा ९० लाख रुपियाँ छुट्याइएको छ । ढाल्पादेखि गाम्चासम्म जोड्ने सडक विस्तार कार्य पनि ९० लाख रुपियाँबाट भइरहेको छ । यस वर्षभित्र यी योजना सम्पन्न भइसक्छन् ।

नागार्जुनमा ठूला सडक

काठमाडौँकै नागार्जुन नगरपालिकाको वडा नं। ६ मा दुई करोड रुपियाँको लागतमा गणेशमान पार्क निर्माण हुँदै छ । गोदामथोक हँुँदै गुरुङगाउँ जाने सडक एक करोड २० लाख, कारखाना चोकदेखि सीतापाइला जाने सडक एक करोड १० लाख र सीताराम स्कुलदेखि सेल्सबेरी जाने सडक डेढ करोड रुपियाँको लागतमा स्तरोन्नति भइरहेको छ । त्यस्तै मनमती करिडोरमा एक करोड रुपियाँको लागतमा काम भइरहेको छ ।

कागेश्वरी मनहरामा जगतजङ्ग मार्ग

काठमाडौँकै कागेश्वरी वडा नं. ७ र ८ जोड्ने जगतजङ्ग मार्ग चार करोड रुपियाँको लागतमा निर्माण हुँदै छ । पेप्सीकोला मनहरा मार्गदेखि काठमाडौँ महानगपालिकाको ३२ नं। वडा जोड्ने हरहर महादेव ब्रह्मखेल जाने सडकमा दुई करोड रुपियाँको लागतमा काम भइरहेको छ । थली पार्क निर्माणको क्रममा छ । अहिले पार्कमा कम्पाउन्ड लगाउने, फुटपाथ निर्माण गर्ने काम भइरहेको छ । वडा नं। ६ मा ५० लाख रुपियाँको लागतमा सार्वजनिक शौचालय र पार्क निर्माण भइरहेको छ ।

टोखामा पक्की पुल

काठमाडौँको टोखा नगरपालिका–११ र ८ जोड्ने पक्की पुल निर्माण भइरहेको छ । यो योजना यस वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । चार करोड १९ लाख रुपियाँमा उक्त पुल निर्माण गर्न लागिएको हो । वडा नं। १ मा पाँच करोड रुपियाँको लागतमा बाउन्डेश्वर बालमैत्री पार्क निर्माण भइरहेको छ । कल्की मन्दिर परिसरमा पार्क निर्माणका लागि दुई करोड रुपियाँ छुट्ट्याइएको छ ।

तारकेश्वरमा बन्ने भयो धाम

काठमाडौँकै तारकेश्वर नगरपालिका–३ मा तारकेश्वर धाम निर्माण गर्न लागिएको छ । धामका लागि यस वर्ष दुई करोड रुपियाँ छुट्ट्याइएको छ । नेपालटार–चिसापानी–जितपुर सडक दुई करोड, नेपालटार–शेषमती पुल–काभ्रेस्थली–शान्तिधाम सडक र नेपालटार–फुटुङ–साङ्ला सडकअन्तर्गत एक करोड ४० लाख रुपियाँमा काम भइरहेका छन् ।

गोकर्णेश्वरमा पर्यटन पूर्वाधार

गोकर्णेश्वर नगरपालिका–१, गणेशथान सुन्दरीमाई मन्दिरसम्म पर्यटकीय सिँढी निर्माण तथापशुपतिदेखि गोकर्णेश्वर हुँदै उत्तर गया सुन्दरीजल बागद्वारसम्म धार्मिक पर्यटन पूर्वाधार निर्माण गर्न एक करोड ४० लाख रुपियाँको लागतमा काम भइरहेको छ । आगामी वर्षभित्र यी योजना सम्पन्न गर्ने लक्ष्य छ ।

शङ्खरापुरमा खानेपानी आयोजना

शङ्खरापुर नगरपालिकाले एक करोड ५० लाख रुपियाँको लागतमा साँखु खानेपानी योजना सञ्चालन गरेको छ । क्रमागत यस योजनाअन्तर्गत दुई वर्षभित्र योजना सम्पन्न भएपछि साँखुको पुरानो बस्ती खानेपानी समस्याबाट मुक्त हुनेछ ।

सूर्यविनायकमा सडक

भक्तपुरको सूर्यविनायक–१० मा भुजेलटार–खड्कागाउँ सडक डेढ करोड रुपियाँको लागतमा सम्पन्न गर्ने योजना छ । सल्लाघारी–दर्शनढुङ्गा–नगरपालिका सडकमा तीन करोड रुपियाँको लागतमा काम भइरहेको छ । यो योजना मङ्सिरसम्म सम्पन्न गरिनेछ । वडा नं। ७ र ४ जोड्ने गोकुलघाट पुल ९३ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ ।

चाँगुनारायणको प्राथमिकता पनि सडक

भक्तपुरकै चाँगुनारायण नगरपालिकामा तेलकोट–भट्टेडाँडा–नगरकोट सडक आठ करोड रुपियाँको लागतमा निर्माण भइरहेको छ । धेरै वर्षदेखि यो सडक सुस्त गतिमा बनिरहेको छ । तीन करोड रुपियाँको लागतमा मुहानपोखरीदेखि महादेव पोखरीसम्मको पदमार्ग निर्माण मङ्सिरसम्म सम्पन्न भइसक्नेछ । एक करोड ७० लाख रुपियाँको झौखेल खानेपानी आयोजना फागुनसम्म सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

गोदावरीमा कुण्ड बन्दै

ललितपुरको गोदावरी नगरपालिकामा दुई करोड रुपियाँको लागतमा गोदावरी कुण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ करोडको लागतमा देवीचौरमा भ्यु टावर निर्माण सम्पन्न हुँदै छ । बज्रवाराहीमा नगरपालिकाको कार्यालय भवन निर्माण हुँदै छ । भवन २७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको हो ।

महालक्ष्मीमा पर्यटन पूर्वाधार

ललितपुरको महालक्ष्मी नगरपालिका–९, लाँकुरीभञ्ज्याङमा पर्यटन पूर्वाधारको काम भइरहेको छ । दुई करोड रुपियाँ लागतको यो काम आगामी वर्षभित्र सम्पन्न गरिने छ । छ करोड रुपियाँको लागतमा वडा नं। ९ मा फोहोर प्रशोधन केन्द्र निर्माण हुँदै छ । (गोरखापत्रबाट)