जनता टाइम्स

४ मंसिर २०७८, शनिबार २०:४७

पहिलो पल्ट गर्भवती हुँदा तीन महिनामा के गर्ने ?


एजेन्सी / पहिलोपटक गर्भवती हुँदा हरेक महिलाका लागि स्वास्थ्यका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण हुन्छ । हुन त हरेकपटक गर्भवती हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नैपर्ने हुन्छ । तर, पहिलोपटकको गर्भावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनसँग अनभिज्ञ भइने हुँदा गर्भसँगै चुनौती पनि बढ्दै जाने गर्छ । गर्भमा रहेको शिशु बढ्दै जाँदा खानामा रुचि, शारीरिक बनावटमा परिवर्तन आदिले दैनिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । स्वस्थ गर्भावस्थाका लागि खानपान दैनिकी व्यवस्थित गर्न आवश्यक छ । समय बित्दै जाँदा आउने प्राकृतिक शारीरिक परिवर्तनसँग सहज महसुस गराउन परिवारको विशेष सहयोग आवश्यक हुन्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा के गर्ने ? : पहिलोपटक गर्भवती हुँदा अधिकांशमा उत्सुकता हुनु स्वभाविकै हो । नेपालको सन्दर्भमा प्रजनन उमेर समूहका लगभग आधा प्रतिशतभन्दा बढी महिलाले किशोरावस्थाको अन्तिमसम्ममा पहिलो बच्चा जन्माइसकेका हुन्छन् । पछिल्लो समय विवाहको उमेर बढ्दै गए पनि अझै पनि कम उमेरमै बच्चा पाउनेको संख्या धेरै नै छन् । पिसाब वा रगत परीक्षणबाट गर्भ रहेको पुष्टि भइसकेपछि चिकित्सकको सल्लाहमा अल्ट्रासाउन्ड गर्नुपर्ने हुन्छ । अल्ट्रासाउन्डबाट भ्रुणको स्थान पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड गर्दा यदि भूण पाठेघरमा आएर बसेको पाइए सुरक्षित गर्भधारण मानिन्छ । तर, कतिपय अवस्थामा भ्रूण पाठेघरको नली र डिम्बासयमा पनि बस्न सक्छ ।

महिनावारी रोकिएको सात हप्तामा बच्चाको धड्कन महसुस गर्न सकिन्छ, जसलाई सुरक्षित गर्भवतीको अर्को सूचक मानिन्छ । गर्भको स्वस्थ विकासका लागि रगत जाँच गर्नुपर्ने हुन्छ । जसमा रगतमा हेमोग्लोबिनको मात्रा, रगत समूह परीक्षण गरिन्छ । योसँगै थाइराइडसम्बन्धी परीक्षण, पिसाब परीक्षण, रगतमा चिनीको मात्रा परीक्षण, संक्रामक रोगहरू जस्तै– एचआइभी, एचपिएस, हेपाटाइटिस बीजस्ता परीक्षण आवश्यक हुन्छ । पहिलो तीन महिना गर्भवतीका लागि जोखिमयुक्त हुने गर्छ । खानामा रुचि नहुने, खाना नपच्ने, शारीरिक परिवर्तनसँग सहज हुन नसकिने र बारम्बार बान्ता हुनेजस्ता लक्षण देखिने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । सम्पूर्ण स्वास्थ्य परीक्षणपश्चात् गर्भवतीलाई फोलिक एसिड चक्की खान दिइन्छ । भविष्यमा शिशुमा हुन सक्ने विभिन्न स्वास्थ्य समस्या रोकथामका लागि गर्भावस्थामा फोलिक एसिड चक्की आवश्यक मानिन्छ । पहिलो तीन महिना गर्भवतीका लागि जोखिमयुक्त हुने गर्छ । खानामा रुचि नहुने, खाना नपच्ने, शारीरिक परिवर्तनसँग सहज हुन नसकिने र बारम्बार बान्ता हुनेजस्ता लक्षण देखिने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

तीनदेखि सात महिनासम्म गर्नुपर्ने जाँच : गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था परीक्षणका लागि पहिलो तीन महिनापश्चात् भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । परीक्षणमा कुनै समस्या देखिएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । तीन महिनापश्चात् गर्भवतीलाई आइरन चक्कीको प्रयोग गर्न दिइन्छ । आमा र बच्चामा हुन सक्ने हाडजोर्नीसम्बन्धी समस्याको निवारण गर्न क्याल्सियम सप्लिमेन्टको प्रयोग गरिन्छ । योसँगै बच्चाको मस्तिष्क विकासका डिएचए प्रोटिन पाउडरको पनि प्रयोग गर्न सकिन्छ ।

२० देखि २४ सातासम्म गर्भवतीले भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । यो समयमा बच्चाको मुटु, कलेजो, मिर्गौला, मस्तिष्क विकास हुने हुँदा परीक्षण गर्नुपर्ने हुन्छ ।गर्भवती आमा र बच्चाको विकासमा लागि हार्मोन परीक्षण गर्नुपर्ने हुन्छ । सम्पूर्ण स्वास्थ्य परीक्षणसँगै खानपानमा विशेष ध्यान दिन आवश्यक छ । बढी अमिलो, पिरो खानेकुराबाहेक अन्य स्वास्थ्यवर्द्धक खानेकुरा खान सकिन्छ । आमाको खानपानले बच्चाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा स्वस्थ आहार आवश्यक हुन्छ । सात महिनापछि गर्भावस्थामा जटिलता थपिँदै जान्छन् । बच्चा जन्मिने समय भएकाले सजग हुन आवश्यक हुन्छ । यो अवधिमा नियमित चिकित्सकको सम्पर्कमा रहन आवश्यक छ ।