१३ असार २०७६, शुक्रबार ००:००

नेपाली उद्योग, भारतीय कामदार : नेपाली युवा बेरोजगार


काशीराम शर्मा/बाँके 

बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन्। अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन्।

उद्योग विभागको तथ्याङ्क अनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए। तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो। सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे। विसं २०६२/६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि अर्को ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ। एकपछि अर्को ठूला उद्योग खुल्दासमेत यहाँका स्थानीयवासीमा उत्साह देखिएन।

कारण, स्थानीयवासीले स्थापना भएका उद्योगमा रोजगार पाउन नसक्नु नै हो। बाँकेमा सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको जानकी गाउँपालिका–५ का अध्यक्ष सुरेश यादवले भन्नुभयो , “हाम्रो वडामा दर्जनौँ उद्योग सञ्चालनमा छन्। तर पनि स्थानीयवासीले रोजगारी पाउन सकेका छैनन्, धुलो, धुवाँ र प्रदूषण मात्र पाएका छन्।” बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलामजस्ता सामग्री उत्पादन गर्ने ठूला उद्योग सञ्चालनमा छन्।

ती उद्योगमा अधिकांश कामदार भारतीय छन्। बाँकेमा भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन। श्रम स्वीकृति लिन नपर्ने र श्रम अडिटको दायरामा आउन नसकेका कारण तथ्याङ्क यकिन हुँदैन। सीमावर्ती भारतीय गाउँका मजदुर त बिहान साइकलमा आएर साँझ घर फर्किहाल्छन्। स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौँ नेपाली विदेश गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदार भरिभराउ भएका छन्।

मजदुर नेताले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आए पनि उद्योगीले त्यसको बेवास्ता गर्ने गरेका छन्। उद्योगीका आफ्नै समस्या उद्योग सञ्चालकहरू भने बाध्यताका कारण स्थानीयवासीलाई रोजगारी दिन नसकेको बताउँछन्। उद्योगी चम्पालाल बोथ्रा भन्नुहुन्छ, “सकेसम्म आफ्नै नेपाली दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ। तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट काममा ल्याउनुपर्ने बाध्यता छ।”

भारतीय कामदार राख्नुमा नेपालीमा सीप नभएको मात्र कारण भने होइन। भारतीय कामदार सङ्गठित भई आन्दोलन गर्न नसक्ने भएकाले पनि उद्योगले उनीहरूलाई रुचाउने गरेका छन्। सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले शुरुशुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ।