काठमाडौं, असार १५
सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।
चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो । विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ । त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो योगदान र महत्व रहने छ ।
धान उत्पादनसँगै उत्पादकत्व पनि बढिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष धान उत्पादन प्रतिहेक्टर ३.५१ मेट्रिक टन रहेकोमा चालू वर्ष सात दशमलव २७ प्रतिशतले बढेर तीन दशमलव ७६ प्रतिहेक्टर पुगेको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले भन्नुभयो, “यो उत्पादन वृद्धि हुनुमा मुख्य सिँचाइ, मल र बीउ नै हो । ” सिँचाइका लागि मनसुनले साथ दियो । मलको व्यवस्थापन सरकारले ग¥यो । सिँचाइको राम्रो व्यवस्था भए नेपालीलाई नेपालीले पेट भर्न समस्या नहुने उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षको धान उत्पादन राम्रो मनसुनले गर्दा भएको हो तर सधैँ यस्तो हुँदैन । समयमा पानी नपर्दा भने समस्या हुन्छ । पर्याप्त पानी नपरेको र साविकभन्दा झन्डै १० दिनपछि मनसुन सुरु हुँदा राष्ट्रिय धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेला २२.०७ प्रतिशत धान रोपाइँ भइसकेको थियो । यो वर्ष धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण नाराका साथ १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
उच्च पहाडी तथा पहाडी भेग, काठमाडौँ उपत्यकालगायतका भूभागमा समयमा पानी परेमा असार १५ सम्म रोपाइँ लगभग मौजारो गर्ने बेला हुन्छ । तराईमा भने सयममा सिँचाइ भए असार १५ वरपर धान रोपाइँ चापाचाप हुन्छ ।
समयमा मलखाद पुगेको, वर्णशङ्कर जातका धानको क्षेत्रफल बढेको र गत वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेसँगै प्रकृतिले साथ दिंँदा उत्पादन बढेको सचिव जीसीको तर्क छ । रोपाइँ हुने जमिन बढेको छैन तर गत वर्ष रोपाइँ हुन नसकेको क्षेत्रमा पनि रोपाइँ हुँदा ९७ प्रतिशत रोपाइँ भएको थियो । उहाँले थप्नुभयो, “कम्तीमा ६० प्रतिशत धानखेतमा नियमित सिँचाइ पु¥याउन सके परम्परागत धानको बीउको प्रयोगले नै धान निर्यात गर्ने अवस्थामा हामी पुग्छौँ । ”
समृद्धिका लागि धान
नेपालको मुख्य खाद्यान्न बाली धानको कुल खाद्यान्नमा योगादन ५८–६० प्रतिशत छ । कृषिजन्य कुल गार्हस्थ्य उत्पादनमा योगदान २० प्रतिशत छ । सचिव जीसी भन्नुहुन्छ, “धान उत्पादन बढ्दा देश समृद्ध हुन्छ । ” नेपालको कुल धान खेती हुने क्षेत्रफल १५ लाख हेक्टरमध्ये करिब २५ प्रतिशतमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने गरेको मन्त्रालयको दाबी छ । धान बढी उत्पादन हुने क्षेत्रमा अझै सिँचाइ पुग्न सकेको छैन । सिँचाइ विभागका अनुसार ४० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ पुगेको छ ।
धानका जात थरीथरी
नेपालमा नयाँनयाँ जातको धान विकास भइरहको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का अनुसार हालसम्म नेपालमा बढी उत्पादन दिने ८३ उन्नत धानका जात छन् । त्यसमा ४८ हाइब्रिड धानका जात सिफारिस भइसकेको छ । तीमध्ये धेरै धान नार्क आफँैले उन्मोचन गरेको हो । कतिपय परम्परागत धान भने लोप भइसकेका छन् । १२ जातका धान अलोकप्रिय भई कृषकले लगाउन छाडिसकेका छन् ।
सिफारिस भइसकेको धानका लागि जल, मल, बलको व्यवस्थान हुन सक्यो भने पाँच वर्षमा धान उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने सचिव डा. जीसीको दाबी छ । बीउबिजनको दीर्घकालीन सोचअनुरूप बीउ विस्थापनदर २५ प्रतिशत पु¥याउन उन्नत जातको धान किसानको पहुँचमा पु¥याउन आवश्यक रहेको नार्कले जनाएको छ । धानको बीउ सिफारिस भए पनि किसानको पहुँचबाट टाढा रहेको नार्कको दाबी छ ।
कृषि विभागका अनुसार धानको जातीय विकासका लागि जिन बैङ्कमा वर्षौंसम्म सुरक्षित गर्न सकिन्छ । विभागका अनुसार नेपालको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क)मा दुई हजार चार सय जातका धान छन् । देशभित्र मात्र होइन नेपालले देशबाहिर पनि धानको बीउ लगेर राखेको छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान फिलिपिन्समा तीन हजार ४५०, जपानमा एक हजार २३८, भारतमा ५६०, दक्षिण कोरियामा ४२४, भुटानमा १५०, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा छ थरीका धान रहेको विभागले जनाएको छ ।
धानलाई मुख्य प्राथमिकता
मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सातवटा जोन र तीन सुपर जोनबाट बृहत् रूपमा कार्यक्रम सञ्चालन गरेको छ । अधिकारीहरू सोही कारण धान उत्पादन वृद्धि भएको मान्छन् । गत आर्थिक वर्षमा बाढी, पहिरो र डुबान हुँहाहुँदै पनि ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । त्यसमा सबैभन्दा बढी प्रदेश २ मा १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ भने प्रदेश १ मा १२ लाख ३७ हजार र प्रदेश ५ मा ११ लाख ८८ हजार मेट्रिक टन धान उब्जिएको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश ३, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा क्रमशः छ लाख छ हजार मेट्रिक टन, पाँच लाख २१ हजार मेट्रिक टन, चार लाख २७ हजार मेट्रिक टन र एक लाख ३३ हजार मेट्रिक टन धान फलेको छ । मन्त्रालयका अनुसार चौधौँ योजनाअनुसार धानको लक्ष्य पूरा भएको छ । सरकारले नीति र कार्यक्रममा धान उत्पादनलाई मुख्य प्राथमिकता दिइएको सचिव जीसीको भनाइ छ ।
लक्ष्य भेट्न सकिएला ?
देशलाई ६८–७० लाख मेट्रिक टन धानको आवश्यकता छ । उत्पादनको हिसाबले १०–१२ लाख मेट्रिक टन धान अपुग रहेको सचिव जीसीले जानकारी दिनुभयो । धान उत्पादन वृद्धि भए पनि बर्सेनि ठूलो मात्रामा चामल आयात हुन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा २८ अर्ब ९० करोड रुपियाँको चामल आयात भएको छ । आव २०७४÷७५ मा २४ अर्ब ४९ करोड रुपियाँको चामल आयात भएको थियो ।
कृषि विभागका निमित्त महानिर्देशक डा. रेवतीरमण पौडेलले चालू आर्थिक वर्षमा नेपालमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा करिब ३४ लाख मेट्रिक टन आपूर्ति भई छ लाख मेट्रिक टन चामल अपुग हुने देखिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकमा हाल हरेक वर्ष उत्पादन वृद्धि भए पनि आवश्यक चामलको आपूर्तिका लागि विदेशबाट हुने आयातमा निर्भर रहनुपर्दा वार्षिक करिब २५ अर्ब रुपियाँभन्दा बढी नेपाली रुपियाँ विदेशिन पुगेको छ । ”
चैते धानमा ध्यान
सरकारले ५३ वर्षयता धानको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । चैते र वर्षे दुवै धान औसत उत्पादनका आधारमा हो । सरकारले धानमा आत्मनिर्भर हुन चैते धानमा विशेष जोड दिएको छ । कृषि विभागका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यका अनुसार चैते धानका लागि एक लाख २० हजार हेक्टरमा बाली लगाइन्छ । यसलाई तीन लाख हेक्टरसम्म पु¥याउन सकिए नेपाल धान–चामलमा आत्मनिर्भर हुन्छ ।
चैते धान प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले उत्पादन हुन्छ भने वर्षे धान प्रतिहेक्टर तीन मेट्रिक टनका दरले मात्र उत्पादन हुन्छ । दुई धान खेती विस्तार गर्न सक्यो भने आयात गर्ने आवश्यकता नै पर्दैन । यो वर्षदेखि ७७ वटै जिल्लामा चैते धानको उत्पादन, उत्पादकत्व र क्षेत्रफलको तथ्याङ्क राख्न थालिएको छ ।
धानको संसार
विश्वमा करिब १६ करोड ७० लाख हेक्टरमा धान खेती भई ७६ करोड ९६ लाख मेट्रिक टन उत्पादन हुने गरेको कृषि विभागको तथ्यांकमा उल्लेख छ । उत्पादनको ९० प्रतिशत धान एसियाली मुलुकमा खपत हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । त्यसपछि भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम छन् । नेपालको मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान उत्पादन हुन्छ । नेपालमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र बारो धानको खेती हुन्छ ।
एक खर्बभन्दा बढी योगदान
नेपालमा कुल खेतीयोग्य जमिनको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ । त्यसमा सबभन्दा बढी तराईमा ७० प्रतिशत धान खेती हुने गरेको छ । नेपालमा एक खर्ब पाँच अर्ब रुपियाँ बराबरको धान तथा यसका उपउत्पादन (भुस, पराल, कुँडो) हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत अंश कृषिको रहेको छ जसमध्ये धानको मात्र करिब २० प्रतिशत योगदान छ ।
प्रतिक्रिया दिनुहोस्