जनता टाइम्स

१९ असार २०७६, बिहीबार ०८:४२

प्राज्ञिक थलोमा गम्भीर अपराध : आफन्त पोस्न त्रिबिमै यसरी घटाइयो योग्य परीक्षार्थीको अंक


एकजनाको द्वितीय पत्रमा ९ अंक, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक र तेस्रोको द्वितीय पत्रमा ३ अंक थपेर मेरिटमा पारेको पाइयो,’ मुद्दा दायरपछि अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्य तीनजनाको द्वितीय पत्रमा क्रमशः ७, २ र ३ अंक थपेर मेरिटमा पारेको भेटियो । संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी साजनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो

काठमाडौं, असार १९

विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा पदाधिकारी र प्राध्यापकले आफन्तलाई जागिर लगाउन अयोग्यको अंक बढाउनेदेखि योग्य परीक्षार्थीको अंक घटाउनेसम्मको अपराध गरेको तथ्य सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो छानविनपछि पदाधिकारीसहित कर्मचारीबिरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्य बाहिर आएको हो ।

आयोगका अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको भेटिएको अख्तियारले जनाएको छ । कर्मचारी भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध बुधवार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापकहरू टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापकहरू राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार ३५ वटा उत्तरपुस्तिकमा नियोजित रूपमा प्राप्तांक केरमेट गरिएको भेटिएको छ । अख्तियारका अनुसार उत्तरपुस्तिकाको कोडिङदेखि नै चलखेल गरेर कर्मचारीदेखि सेवा आयोगका अध्यक्षसमेत मिलेर लिखित परीक्षामा चलखेल गभएको छ ।

त्रिबि सेवा आयोगले २०७३ फागुन २८ गते विभिन्न १६ पदमा विज्ञापन गरेको थियो । त्यसमध्ये ६ पदको लिखित परीक्षाको नतिजा गत वैशाखमा प्रकाशित भएको थियो । आयोगले अयोग्यलाई उतिर्ण गराएको पाइएपछि अख्तियारमा योग्यहरुले उजुरी दिएका थिए । त्यसपछि छानविनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको पाइएको हो ।

अख्तियारका अनुसार शाखा अधिकृत पदको लिखित परीक्षामा ६ जनाको उत्तरपुस्तिकामा केरमेट भएको भेटिएको छ  भने उत्कृष्ट दुईजनालाई फेल गराई अन्य चार जनालाई नम्बर थपेर उत्तीर्ण गराइएको थियो । प्रशासन प्रमुख परशुराम पौडेलकी छोरी नमितालाई पास गराउन प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर पास गराएको अख्तियारको छानबिनले देखाएको छ । यस्तै लेखा अधिकृत पदका लागि २४ जना लिखित परीक्षामा सहभागी भएकोमा सात जनाको उत्तरपुस्तिका केरमेट गरिएको पाइएको छ ।

‘एकजनाको द्वितीय पत्रमा ९ अंक, अर्को परीक्षार्थीको द्वितीय पत्रमा १० अंक र तेस्रोको द्वितीय पत्रमा ३ अंक थपेर मेरिटमा पारेको पाइयो,’ मुद्दा दायरपछि अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्य तीनजनाको द्वितीय पत्रमा क्रमशः ७, २ र ३ अंक थपेर मेरिटमा पारेको भेटियो । संपरीक्षण गर्ने परीक्षकले ९ अंक घटाई मेरिटमा तल पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी साजनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइयो ।’

अख्तियारका अनुसार यस अनियमिततामा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र संपरीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको छ ।