जनता टाइम्स

१९ असार २०७६, बिहीबार १७:४१

मनाङमा खुसी छाँउदा काठमाडौंलाई किन पीडा ?


समाचार बिश्लेषण

‘काठमाडौंका डन दिपक मनाङ्गे होइन, जनताका सेवक राजीव गुरुङ नेकपा प्रवेश गरेका हुन,’ यी भनाई गण्डकी प्रदेसका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङका हुन । मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित दिपक मनाङ्गेलाई पार्टी प्रवेश गराउने क्रममा नेकपाका गण्डकी इञ्चार्जसमेत रहनुभएका गुरुङले नै प्रवेशपछि आउन टिकाटिप्पणीतर्फ संकेत थियो यो ।

उहाँले प्रवेश गराएको केही मिनेट नबित्दै आफ्नै दल नेकपादेखि बिपक्षीसम्मको कटाक्ष आएपछि मुख्यमन्त्री गुरुङले पहिला नै यस्तो जवाफ दिनुभएको सहजै बुझ्न सकन्छ । गण्डकी इञ्चार्ज र मुख्यमन्त्रीका रुपमा उहाँले सायम मनाङका जनताको आवाज सुनेपछि मनाङ्गेलाई पार्टीमा स्वागत गर्नुभयो । काठमाडौंको आवाज सुन्दा पहिलो पटक पार्टी प्रवेश गराएर पनि फिर्ता गराइएको थियो ।

तिनै पात्र मनाङ्गलाई आज नेकपामा भित्र्याएपछि यतिबेला दिपक मनाङ्गे उर्फ राजीव गुरुङको चर्चा गण्डकी भन्दा बाहिर आएको छ । अर्थात देशैभर यतिबेला चर्चाको शीखरमा छन दिपक । काठमाडौंमा कुख्यात डनका रुपमा परिभाषित गरिएका दिपक आफ्नो गृहजिल्ला मनाङबाट त्यत्ति धेरै मत ल्याएर जित्छन भन्ने धेरैले कल्पनासमेत गरेका थिएनन । काठमाडौंको आँखाले मनाङलाई हेर्ने दोषी चष्माका कारण सवैले यस्तो अनुमान गर्नु स्वभाविक थियो । चुनाव अगावै उनी तात्कालिन नेकपा एमाले प्रवेश गरे । तर आफ्नो पकड क्षेत्र गुम्ने भयो भन्ने त्रासमा कांग्रेसले कोकोहोलो मच्चायो ।

तात्कालिन एमालेकै नेताहरु समेत दिपकको आगमनलाई काठमाडौंको नजरले हेर्दै दुत्कार्नतिर लागे । परिणाम दिपकले एमालेमा बैधता पाउन सकेनन । तर जनताले स्वतन्त्र उम्मेद्वारका रुपमा खडा गरेर बिजयको माला पहिराई दिए । उनले नै कुनैबेला प्रतिनिधिसभा निर्वाचनमा निर्बिरोध निर्वाचित भएको कांग्रेस जस्तो शक्तिलाई पराजित गरिदिए । सायद पार्टीको आधिकारिक उम्मेदवार बनेको भए अर्काे सिट पनि नेकपाकै पोल्टामा आउने थियो । तर काठमाडौंले खेदेपछि दुरदराजका जनताको आवाज आफै दब्छ भने जस्तै भयो दिपकको बिषयमा पनि । मनाङका जनताको मत पाए पनि दिपकले बैधानिक रुपमा माननीयको जिम्मेवारी सम्हाल्न पाएनन ।

एउटै मुद्दामा अरुले सफाइ पाए, तर दिपक भने सजायको भागिदार बन्नुपर्यो । सायद काठमाडौंले मनाङको आवाज दवाउन खोज्यो । निर्वाचित भएर शपथ लिन नपाउँदै कारागार चलान भए उनी । जेल सजाँय भुक्तान गरी फर्केपछि पनि दिपक आफ्नो पूर्वनिर्णयप्रति अलिकति पनि डगमगाएनन । किनकि उनी कांग्रेसको भातृ संगठन तरुण दलको मनाङ अध्यक्षको जिम्मेवारी पूरा गर्ने क्रममा नै कांग्रेस चिनिसकेका थिए । कांग्रेस मुलुकको लागि अभिशाप हो भन्ने निश्कर्षसहित एमालेमा आएका दिपक काठमाडौंको आँखाले हेर्दा दोषी देखिए पनि मनाङबासीको आँखामा दोषी ठहरिन सकेनन । सवैका प्रिय सेवक बने ।

काठमाडौंले दुत्कारेको एउटा युवाको कामलाई मनाङले बुझ्यो । अनि बनायो आफ्नो जिल्ला बनाउने एउटा अभियन्ता । यही हो बास्तविकता । दिपक नेकपामा प्रवेश गरेपछि काठमाडौंमा मच्चिएको कोलाहलबीच एक मित्रले फोन गर्नुभयो । उहाँको गुनासो लामै थियो । तर उहाँले सारमा भन्नुभयो, सर हाम्रो मनाङमा खुसी छाउँदा काठमाडौंलाई किन हुन्छ पीडा ?’ यो प्रश्नको जवाफ सायद काठमाडौं बसेर मनाङ हेर्ने खाँखा भएका बिरोधीले पनि दिन सक्छन जस्तो लाग्दैन ।

मनाङको आँखामा मनाङ्गे डन वा गुण्डानाइके थिए भने पक्कै पनि जिताउने थिएनन भन्ने सच्चाइलाई भने सवैले आत्मसाथ गर्न जरुरी छ । दिपक मनाङ्गे डन हुन कि जनताका सेवक हुन ? मनाङबासीलाई सोध्नोस । आँखामा लगाइएको दोषी चस्मा आफै उघ्रनेछ ।