जनता टाइम्स

२२ असार २०७६, आईतवार १५:११

दिवा खाजा कार्यक्रम बन्द भएपछि बालबालिका प्रभावित


वीरेन्द्र कर्ण/वीरगञ्ज

दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत पाँच वर्षीया सरिताकुमारी रामको दैनिकी विद्यालयको पढाइमा नै बित्ने गर्दथ्यो । पर्साको छिपहरमाई गाउँपालिका–५ भीस्वास्थित जयमङ्गल माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई दिवा खाज कार्यक्रम बन्द भएपछि ठूलो असर परेको छ ।

उनी मात्र होइन, यो कार्यक्रम बन्द भएपछि विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकामा ठूलो असर परेको हो । विद्यालय जान प्रोत्साहनका लागि दिइने ‘दिवा खाजा’ कार्यक्रम यही असार १५ बाट अचानक रोकिदिएपछि सो विद्यालयका ३६० बालबालिका प्रभावित भएका छन् ।

सङ्घीय सरकारले पर्सामा चालू आर्थिक वर्ष (२०७५/०७६) देखि स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ५ सम्मका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न दिवा खाजा कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम लागू भएपछि जिल्लामा विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

तर सो गाउँपालिकाले अचानक यो कार्यक्रम बन्द गर्न निर्देशन दिएपछि हाल सो विद्यालयका बालबालिका प्रभावित भएका हुन् । विशेषगरी विद्यालय बाहिर रहेका बालबालिकालाई आकर्षित गर्न सरकारले लागू गरेको यो कार्यक्रमबाट विद्यालयप्रति बालबालिकाको आकर्षण बढ्दै गएको थियो ।

तर गाउँपालिकाले उक्त कार्यक्रम बन्द गरेपछि बालबालिका निरास भएको सो विद्यालयका खाजा संयोजक पुनीलाल साहले बताउनुभयो । गाउँपालिकाले शुरुमा फागुन र वैशाख महीना गरी दुई किस्ता रकम निकासा गरे पनि असार १५ बाट सो कार्यक्रम स्थगन गर्ने निर्देशन दिएको स्वीकार्दै सो विद्यालयका प्रधानाध्यापक शिवशङ्कर सिंहले भन्नुभयो, “खाजा व्यवस्थापन समिति पारदर्शी नदेखिएको र रकममा हिनामिना भएको तथ्य फेला परेपछि गाउँपालिकाले सो कार्यक्रम रोकेको हो ।

उहाँले अहिलेसम्म सो कार्यक्रमको नाउँमा रु चार लाख निकासा भएको बताउनुभयो । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार साह कानुले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको बताउनुभयो तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश साहले गाउँपालिकाले बाँकी किस्ताको रकम निकासा नगरेकाले यो कार्यक्रम बन्द गरिएको स्पष्ट पार्नुभयो ।

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका ९० विद्यालय, पोखरीया नगरपालिकाका २४, सखुवाप्रसौनी गाउँपालिकाका २९, जिराभवानी गाउँपालिकाका २३, पटेर्वासुगौली गाउँपालिकाको २४, जगरनाथपुर गाउँपालिकाको ३० र पर्सागढी नगरपालिकाको ३० विद्यालयमा दिवा खाजा कार्यक्रम लागूभएको छ ।

यसैगरी ठोरी गाउँपालिकाको २१, छिपहरमाई गाउँपालिकाको ११ र पकहामैनपुर गाउँपालिकाको छ वटा विद्यालयमा पनि सो कार्यक्रम लागू भएको छ । बहुदरमाई गाउँपालिका तथा विन्दवासिनी, धोवनी र कालिकामाई गाउँपालिकामा हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नहुँदा सो दुई वटा विद्यालयमा उक्त कार्यक्रम लागू हुन नसकेको सम्बन्धित गाउँपालिकाले बताएका छन् ।

अधिकांश विद्यालयमा खाजा कार्यक्रमको रकममा हिनामिना भएको, बालबालिकालाई गुणस्तरहीन खाजा दिने गरेको र बालबालिकाको खाजामा शिक्षकको रजाइँ हुने गरेका कारण कतिपय स्थानीय तहका जनप्रतिनिधि सो कार्यक्रमप्रति असन्तुष्ट देखिएका छन् ।

सरकारले विद्यालयगत तथ्याङ्कका आधारमा प्रति विद्यार्थी दैनिक रु १५ का दरले विद्यालय सञ्चालन रहेका दिन गणना गरी बढीमा १८० दिनसम्मको रकम पर्साका सबै स्थानीय तहलाई उपलब्ध गराइसकेको छ । तर कतिपय स्थानीय तहले सो कार्यक्रम सञ्चालन नै गर्न नसकेकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेको छ भने कतिपयले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन ।

सरकारले वीरगञ्ज महानगरपालिका बाहेक सबै स्थानीय तहमा विद्यार्थीको सङ्ख्याको आधारमा १८० दिनको एकमुष्ठ रु एक करोडदेखि डेढ करोडसम्म पठाइसकिएको भए पनि सो रकममा जनप्रतिनिधिको गिद्धे दृष्टि परेकाले अधिकांश विद्यालयमा यो कार्यक्रम हालसम्म कार्यान्वयनमा आउन सकेको नसकेको अभिवावक शेषमन पडितको गुनासो छ ।

सरकारले स्थानीय तहमा पठाएको रकम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा गठित खाजा व्यवस्थापन समितिले गुणस्तरहीन तथा सस्तो खाजा दिएर सो रकममा व्यापक हिनामिनासमेत गरेको बताइएको छ ।

सरकारले सशर्त अनुदानअन्तर्गत स्थानीय तहमा पठाएको दिवा खाजा कार्यक्रमको रकममा कर्मचारी, जनप्रतिनिधि र विद्यालय शिक्षकबीच कमिसनको कुरा नमिल्दा कतिपय विद्यालयमा यो कार्यक्रम लागू हुन नसकेको देखिन्छ । छिपहरमाई गाउँपालिकाले सो कार्यक्रम बन्द गरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । सो विद्यालय असार २९ देखि एक महीनाका लागि गर्मी बिदा दिने भएकाले सो रकममा व्यापक हिनामिना हुने अनुमान स्थानीवासीको छ ।

“विद्यालयमा खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेका थिए”, शिक्षकहरु भन्छन्, “यो कार्यक्रमको सकारात्मक प्रभाव परेको देखिन्छ, अहिले दिवा खाजाको कार्यक्रम रोक्दा यहाँ ठूलो असर पुगेको छ ।” खाजा कार्यक्रमले बीचमा विद्यालय छाड्ने समस्या कम हुँदै गएको दाबी उनीहरुको छ । पर्सा जिल्लामा ३५७ विद्यालय छन् । रासस