नेत्रप्रसाद नेपाल
दुई विशाल ठुला पार्टी बिघटन गरेर एउटै मात्र ठुलो भिमकाय पार्टी बनेको छ नेकपा । यो भिमकाय नेकपा अहिले छिटोछिटो हिंडन नसक्ने अवस्थामा पुगेको छ । किन ? के कारणले ? तल विस्तारपुर्वक लेख्ने जमर्को गरेको छु । हिजो नेकपा एमाले र माओवादी हुँदा जुन सांगठानिक स्थिति थियो, आज त्यो दुई पार्टी एक हुँदा हराएको छ । एमाले र माओवादी एक्ला एक्लैले हजारौं जनता सडकमा उतार्न सक्थ्यो । अहिले त्यो सकिएको छ । कार्यकर्तामा जुन लय र संगठनप्रतिको निष्ठा, सक्रियता, त्याग र समर्पण थियो, त्यो पनि सकिएको छ । मानौं अहिले ती कार्यकर्ता स्वासप्रश्वास विनाका मुढामा परिणत भएका छन । कार्यकर्ता पार्टीको होइन, विचारको होइन, नेताहरूको गोजीको भएका छन ।
कार्यकर्तालाई अनुशासनहीन हुन उक्साइएको हो या छाडा छोडिएको हो ? जथाभावी मनलाग्दी शत्रु जस्तो गरेर अपशब्द लेख्ने, गाली गर्ने काममा प्रयोग भएका छन । कुनै कार्बाही कसैलाई कहिल्यै नहुनु भनेको अराजकतातिर पार्टी जानथालेको संकेत हो । अहिले कुनैपनि नेताले कार्यकर्ताहरुलाई पार्टीको विचारको पछि लाग्न व्यक्तिको पछि नलाग्न भन्दैनन । कसैले योजना लग्यो, मैले मेरो पहलमा, मेरो कारणले भन्छ । पार्टीको आदेशमा, पार्टीले गरेको भन्न चाहँदैन । कार्यकर्ताहरु पनि तिनै नेताको कारणले योजना आएको, फलानो नेताले पारेको भन्न र बहस गर्न उद्वत छन । अर्थात पार्टीको नाम लिन कोही केन्द्रीय नेता, कोही प्रदेश र जिल्लाका नेता तयार छैनन । अहिले हाम्रो हराएर म र मेरो हावी भएको छ । पार्टीलाई निजीकरण गरिएको छ अर्थात मवादमा घचेटिएको छ ।
हिजोका वैचारिक हिसावले तिखारिएका लडाकु जनवादी केन्द्रीयता मान्ने, अनुशासनमा बस्ने, अनुशासनको पालना गर्ने पार्टीको जस्तोसुकै आदेश पालना गर्ने/गराउने, संगठनप्रति प्रतिवबद्व संगठन विस्तार गर्ने निजि सम्पत्तिको लोभलालच नभएको कार्यकर्ता बाध्यताले दुलाभित्र लुकेर बाहिरको तमासा नियाल्न बाध्य छन । ती अहिले संगठनमा त छन् तर नेताहरूको वरिपरि घुम्ने घर, चौको चुल्हो चहार्ने गणेश प्रवृत्ति भएका गफाडीहरुको विचौलियाहरुको विचारसून्य बनेर माफिया, कालोबजारिया, तस्करी र गुण्डागर्दी गर्नेहरुको नियन्त्रणमा पारिएका छन् । अहिले नेताहरु लोभलालची भाईभतिजावाद, आफन्तवाद, निर्वाचन क्षेत्रवादी भएको प्रष्ट जनताको लेवलमा देखिन्छ । ल्याइते कार्यकर्ता पाल्न, गुण्डा पाल्न र गणेश प्रवृत्ति पाल्न योजना हालिदिनु पर्ने बाध्यात्मक परिस्थितिमा ती नेताहरु पुगेका छन । गुण्डा पाल्न, उनीहरुलाई आफ्नो बनाइराख्न पनि ठेक्कापट्टा मिलाइ दिनुपर्ने, योजना हालिदिनु पर्ने र उपभोक्ता समितिमा उनीहरुलाई जिम्मा लगाउनु पर्ने बाध्यतामा नेताहरु छन् ।
अनि हामीले कस्तो विकास खोजेका हौं ? यो तरिकाले विकास सम्भव छ त ? कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कमाउनिष्ट बनाउन किन केका लागि उद्वत छन नेता गणहरु ? अहिले कार्यकर्तादेखि जनतासम्म पार्टीमा किन लाग्ने ? नपाउने हो भने भनेर खुलेआम भन्छन् । कतिलाई हेर्न पनि घिन लाग्ने भएको छ । अहिले हाम्रा दुई पार्टी एकीकरण भएको १४ महिना पुगेको छ । १४ महिनसम्म तल्लो कमिटीसम्म एकता टुङ्गो लाग्न सकेको छैन । पार्टीमा भागवण्डा मेरो र मवादले एकीकरणमा अवरोध गरिरहेको छ । भित्र दुई नम्बरी गर्नेहरु बाहिर आदर्शका कुरा गर्दै असली विचारक भएका छन । पार्टीको कारणले पटकपटक बिभिन्न जिम्मेवारी पाएकाहरु पार्टी र त्यसको नेतृत्वलाई खुइल्याउन दिलो ज्यानले लागेका छन । जिम्मेवारी नपाएका पुराना असलहरु समेतमाथि भनिएका नवागंतुकहरुको कारण विच्किएर भड्किन थालेका या अब पुरै निरास भएर बसेका छन ।
यत्रो ठुलो पार्टीहरु मिलेर बनेको भिमकाय विशाल पार्टीका इमानदार कार्यकर्ता किन के कति कारणले निराश छन ? पार्टीलाई पर्दा यी सबै जुरुक्क उठ्नु पर्ने होइन र ? दुई तिहाइ बहुमत हासिल कम्युनिस्ट पार्टी यतिबिघ्न थिलथिलो भएको, उठ्न नसकेको वा नदिएको किन ? के कारणले हो ? यसको कारण किन खोजिँदैन ? कहिलेसम्म पार्टीलाई यो हालतमा राख्ने ? नेतृत्व हस्तान्तरण गर्ने बेला कहिले आउँछ ? एउटा नेता कहिसम्म पार्टीको नेता अनि सांसद पनि भई रहने ? यसो मैले भन्न मिल्थ्यो या मिल्दैन थियो ? थाहा छैन तर पार्टीमा अहिले गोरु चुटेर हलो अड्काउने काम किन ? के कति कारणले भइरहेको छ ? जनता र कार्यकर्ताले बुझ्न नसकेको कुरा हो यो । सरकार कमजोर बनाउने खेल पनि नेकपाबाटै चलिरहेको जस्तो देखिन्छ । एउटै डुङ्गामा सवार यात्रु डुङ्गा पल्टिँदा त सबै नै मारिन सक्छन नि होइन र ? नेकपामा अहिले जनवाद हराएको छ, अन्तराष्ट्रिय गीत हरायो, जनसम्पर्क करिबकरिब हराउँदै छ । नेता नेतामा इगोको राजनीति चलेको छ, कार्यकर्ता आपसमै हिलो छ्यापाछ्याप गरिरहेछन । सामाजिक सञ्जालमा नेकपाका नेता कार्यकर्ता धेरैजसो सरकारविरुद्ध खनिएका छन मानौं यो सरकार जनविरोधी हो भन्ने भान पार्न खोजे जस्तो लाग्छ ।
आरोप-प्रत्यारोप छरपस्ट छ, नीति कार्यक्रम केही नभएको जस्तो नेतृत्वसून्य, अस्ताउन लागेको सूर्य जस्तो बनाईँदै छ नेकपालाई । किन यस्तो भइरहेको छ त ? के कारणले भएको हो प्रधानमन्त्री केपी शर्मा ओलीप्रति, सरकारप्रति किन यतिविघ्न प्रहार ? यही रवैया भएको भए मनमोहन अधिकारी नेतृत्वको सरकार पनि राम्रोमा नगनिने रहेछ । यो बेमेल, यो प्रधानमन्त्री खेदने चालचलन अन्त गर्न पर्दैन त ? नेता–नेतामा र कार्यकर्ता–कार्यकर्ताहामी सबै देश बनाउन हिँडेका हौं नि होइन त ? बोलचाल बन्द किन ? केपी ओलीविरुद्ध किन यसरी न्वारानदेखिको बल लगाएर जनमत सृजना गराइरहेको हो ? यसको नियति के हो ? भोलि पार्टीका अरु नेता प्रधानमन्त्री हुँदा केपी समर्थकले यो भन्दा चर्को विरोध गरे भने हालत के हुन्छ ? सत्ता र शक्ति हुँदाहुँदै संसारका ठुलाबडा राजाहरुको समर्थन हुँदाहुँदै पनि महाभारत युद्धमा कौरव किन हारे ? विदुर जस्ता महान त्रिकालदर्शी सल्लाहकार हुँदाहुँदै युद्ध हार्नु चानचुने होइन । दुई तिहाइको सरकार राम्रो काम गरेर वाईवाही कमाउन पर्ने यो समय किन केपी विरुद्ध मोर्चाबन्दी भइरहेको छ ? राम्रोसँग मिलेर काम नगर्ने हो भने यस्तो बहुमत कता पुग्छ र नेपालमा कम्युनिस्ट थिए रे, दुई तिहाइ ल्याएका थिए रे, आफूआफू नै लडेर यदुवंशी मासिए जसरी मासिए रे भन्ने हुन नसक्ला भन्न के बेर ।
तसर्थ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र सल्लाहकारहरुका गलत सल्लाहको कारण समस्या पैदा भएको त छैन ? सोच्न पर्ने समय आउन लागेको हो कि ? यस्ता समस्या नेकपामा कति गन्न सकिने अवस्था नै छैन । अब समस्या छ भनेर अहिले जस्तो कोही चुपचाप, कोही आक्रामक भएर सरकारविरुद्ध भइरहेको हमला सहन गरेर बसिरहन मिल्छ ? पार्टीभित्रको समस्या समाधान गर्न सकिन्न त ? सकिन्छ । समाधान गर्न नसक्ने हो भने न रहे बाँस न बजे बाँसुरी हुनेछ । घरको दैला अगाडि सिस्नो घारी भए सरह हुनेछ पार्टी । दुई तिहाइको सरकार छ, काम गर्न थालिरहेको छ, गरिरहेको छ । काम के कति भए आँखा अगाडि छर्लङ्ग छ, देखिरहेका छन् तर यो यो काम भएको छ, अब यो यो काम हुनुपर्छ, यो काम गरेको भएन, सरकार यो बाटोबाट जानुपर्छ भन्ने कुरा कसैले भन्दैन । जम्मा भन्छ त यो सरकारले काम गरेन । यो भन्ने भनाउने सबै नेकपाका दुवै पूर्वपट्टीकाहरु हुन । यी सबैले भनेको सुनेर कांग्रेस पनि ब्युँझिएर त्यसै भन्न थाल्यो ।
कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउने काम नेकपाकै नेताहरुबाट भएको जस्तो लाग्छ । बल्लतल्ल बनेको कम्युनिस्ट सरकार मास्न, सक्न, समाप्त पार्न कोही उद्धत छ भने नेकपाकै दुर्योधन, धृतराष्ट्र अनि सकुनीहरु लागेका छन । त्यस्ता प्रबृत्ति बोक्ने नेकपाकै नेताहरु, कार्यकर्ताहरु छन । ठाउँ कुठाउँ सामाजिक सञ्जालको दुरुपयोग गर्ने, ओली देख्नै नहुने, सुन्नै नहुने गरी तथानाम लेख्ने काममा विपक्षी भन्दा बढी नेकपाकै नेतृत्व तहका मानिस, उहाँहरुका निजी मानिस, प्रयोग भएका छन । त्यो देखिने र सुनिने गरि भएको छ । वरिष्ठतमहरु रेडियो, टिभी, पत्रपत्रिकामा अन्तर्वार्ता दिँदा सरकारको आलोचना गर्न, प्रधानमन्त्रीको विरोध गर्न केन्द्रित हुनुले नेकपाले पार्टीको मुल्य मान्यता समाप्त पार्न लागेको जस्तो देखिन्छ । मतलब अब नेकपाले सरकार बनाउने यत्ति हो, यो पाँच बर्षमा पालैपालो खान पर्यो भन्ने मान्यताले काम गरेजस्तो देखिन्छ । ओली आफैमा साहस र आँट भएका मान्छे हुन । उहाँको कारणले नै यो बहुमत आएको हो भन्ने सत्य स्विकार्न नसक्नु र पीडावोध हुनु समस्याको चुरो कारण हो ।
आफ्नो पालामा केही नहुनुले कतिपय नेतामा व्यक्तिगत कुण्ठा, पीडा पनि भएको छ । कतिलाई म मात्रै नेता हो, मन्त्री म मात्रै, अझ सँधै हुन पाउनुपर्छ भन्ने लागेको सत्य देखिएकै छ । कतिलाई हारको पीडा छ, यो सबैको निशाना काम गर्दागर्दै पनि केपी ओली भएका छन । केपी कमरेडमा पनि धेरैको कुरा सुन्ने, समस्या आए छलफल गर्ने, तुरुन्तै समाधान निकाल्ने तरिका वा शैली नभएको हो या सल्लाहकारहरु अक्षम परेर सल्लाह गतिलो नदिएका हुन ? के हो बुझ्न सकिएन । पार्टी केन्द्रीय तहमा एकीकरण भए पनि गाउँ पालिकातहसम्म एकिकरण नहुनु र पार्टी कार्यालय पेरिसडाँडा र धुम्बाराही, अनी संसदीय दलको कार्यालय अझै पनि दुई ठाउँमा हुनुले दुई पार्टीको भावना जागृत गराईरहेको छ । यो भावनात्मक एकताको लागि अर्को समस्या हो । भातृसंगठनको एकता एकीकरण भएको कमिटीले पुर्णता नपाउनु, पार्टीको एकीकरण सम्पन्न भएका कमिटीको बैठक नहुनु पनि समस्या नै हो । जे होस समस्या सबैतिर छ, तर यहाँ चाँहि नेताहरुमै कम्युनिस्ट पार्टीको अनुशासन भएन । त्यसैले समस्या देखिएको हो । नेकपाभित्र अहिले देखिएको मुल समस्याहरुलाई वुँदागत रुपमा यसरी देखाउन सकिन्छ ।
१. पार्टीमा विधि, पद्धति स्थापना नहुनु ।
२. समानवयका नेताहरु भएको कारणले एकले अर्काको अस्तित्व स्विकार्न गाह्रो भएको ।
३. चरम गुटबन्दी हुनु । पार्टीभित्रका आफ्नालाई शत्रु देख्नु र शत्रुमार्कालाई मित्र देख्न थाल्नु ।
४. नेतृत्वमा रहेकाले कार्यकर्ता पार्टीको होइन, गोजीको बनाउनु । सैद्धान्तिक होइन, मुस्तण्ड बनाउनु र तिनको भजन सुन्ने र ती भजनमण्डलीको कुरा सुनेर धारणा बनाउनु ।
५.सरकारको शक्तिशाली पदमा म मात्रै जान पाए हुन्थ्यो भन्ने सोच्ने र शक्तिको लागि झुन्ड बनाउने र बजारमा गीत गाउन लगाउने ।
६. केपी ओली असफल बनाउन तानाबाना बुन्ने, प्रचारप्रसार गराउने केपी नै नेपाल र नेपालीको शत्रु हुन भन्ने ढङ्गले विभिन्न माध्यम प्रयोग गरी सरकारको वदनाम गराउन कोशिस गर्ने काममा गिरोह बनाइ प्रयोग गर्ने काम ।
७. नेताहरुमा मन्त्रीपद मैले मात्रै पाउनुपर्छ भन्ने भावना विकास हुनु । म कतिपटक भएँ, म अब कतिपटक हुने, म पछि अरु म सरहका नेताहरु पनि छन है भन्ने बिर्सने वा पदलोलुप भावना चरम हुनु ।
८. नेताहरुमा हाम्रो हराएर मेरो भावना विकास हुनु । सबै मेरा नातागोता, भाइभतिजाले पाउनुपर्छ भन्ने भावना विकास भइ खट्ने इमानदार कार्यकर्तामा निरासा उत्पन्न गराउने काम हुनु ।
९. निजी सम्पत्तिमा जोड दिनु । जसका लागि तस्कर, माफिया, दलाल जस्तोसुकै मानिसलाई पार्टीमा प्रवेश दिनु र फाइदा लिनु ।
१०. कम्युनिस्ट आचरण, नैतिक मुल्यमान्यतामा बिर्सनु ।
११. सबैभन्दा ठुलो महारोग जसरी पनि सत्ता र शक्तिमा ध्यान जानु । जनता र आम कार्यकर्तासँग टाढिनु ।
१२. विभिन्न स्वार्थ समुहको टकराव र ती समुहका मानिसको घेराबन्दीमा नेताहरू पर्नु ।
१३. सरकारले काम गरेपनि प्रभावकारी काम नदेखिनु, जसको कारणले कम्युनिस्ट विरोधी तत्वहरुले कम्युनिस्टले काम गर्न नसकेको प्रचारप्रसार गर्न सफल हुनु ।
१४. कर्मचारीतन्त्रलाई सही ढङ्गले उपयोग गर्न नसक्नु वा कर्मचारीबाट सरकारलाई असहयोग हुनु ।
१५.पार्टी नेताहरु पार्टी कार्यकर्ताहरु गोलबद्व नहुनु वा एकताबद्ध बनाउन नसक्नु, बन्न नदिनु जसका कारण सरकारविरोधी सबै हौसिनु ।
१६. केपी ओलीलाई शत्रुको रुपमा हेर्नु सरकारमा छँदा समर्थन बाहिरिएपछि विरोध गर्ने, परम्पराको सुरुआत हुनु, केपी कमरेडले पार्टी नेतृत्व गर्दा पार्टी ठुलो हुनु, उहाँको नेतृत्व सफल हुनुले पनि व्यक्तिगत ईस्र्या पलाउँदा पार्टी विशाल बनाउने नेतृत्व र एकीकरणको नेतृत्व गर्दा समेत उहाँको भुमिकालाई ओझेलमा पार्ने गरी पार्टी पक्तिबाटै नकारात्मक प्रचारप्रसार हुनु ।
१७. पार्टीभित्रका अष्टबक्रहरुलाई तह लगाउन नसक्नु । अष्टबक्र भनेको आठ ठाउँमा शरिर भाँचिनु वा दोब्रिनु भन्ने हुन्छ । आफ्नो निजी स्वार्थका लागि जता पनि ढल्कन सक्ने व्यक्ति भन्ने बुझाउँछ ।
१८. सत्रौं नम्बरमा उल्लेख भएको आचरण भएका मानिसहरु प्रधानमन्त्री वरपर झुम्मिएर विभिन्न ठाउँमा नियुक्ति पाउन सफल हुनु, तर प्रधानमन्त्रीविरुद्ध भयानक षड्यन्त्र भैरहँदा ती आफ्नो दुनो सोझिएपछि प्रधानमन्त्रीको पक्षमा बोल्न, विरोधीलाई चुनौती दिनुको साटो दुला पस्नु, नबोल्नु । १९. संसदीय समितिलाई पार्टीको संसदीय दलले नियन्त्रणमा राख्न नसक्नु, अर्थात दुई पूर्वहरुका पुरानै बानी बेहोरा कायमै रहनु अत्यन्त खतरनाक । माथि उल्लेख गरेबाहेक अनगिन्ती समस्या नेकपाभित्र छन । व्यक्तिपिच्छे समस्या छ । हेराइमा समस्या, गराइमा समस्या, बुझाइमा समस्या ।
प्रतिक्रिया दिनुहोस्