तनहुँ, २८ वैशाख । तनहुँका दुई सय ८८ मतदान केन्द्रमा निर्वाचन सामग्री सहितका कर्मचारी पुगेका छन् । अब नौ मतदान केन्द्रमा निर्वाचन सामग्री लैजान बाँकी छ । व्यास नगरपालिकाका नौ मतदानस्थलमा सामग्री लैजान बाँकी रहेको मुख्य निर्वाचन अधिकृत हरिषचनन्द्र ढुंगानाले बताउनुभयो । ती केन्द्रमा पनि आज दिउँसोसम्म निर्वाचन सामग्री पुर्याइने उहाँले बताउनुभयो । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नजिकै रहेका मतदान केन्द्रमा सामग्री लैजान बाँकी हो । आजसम्म सबै केन्द्रमा पुग्छन्’, उहाँले भन्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ६१ प्रकारका सामग्री मतदान केन्द्रलाई वितरण गरिएको छ ।
मतपेटिका, मतपत्र, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका निर्वाचन सामग्री मतदान केन्द्रहरूमा लगिएको हो । जिल्लाको घिरिङ गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहमा मतगणनास्थलको समेत टुंगो लागेको छ । ‘घिरिङमा सहमति जुट्न सकेको छैन । आज सर्वदलीय बैठक बसेर टुंगो लगाउँछ’, उहाँले भन्नुभयो,‘मतगणनास्थल टुंगो लागेको स्थानीय तहमा घेराबार र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’ मतगणस्थलमा ग्याबिन जाली, बाँसको घेराबार गरेर भित्रपट्टि मतगणक बस्ने प्रबन्ध मिलाइएको छ । घेराबार बाहिर उम्मेदवारका प्रतिनिधि बस्नेछन् । गणक प्रवेशद्वारमा सुरक्षाकर्मीले पहरा दिनेछन् ।
यस्तै जिल्लामा एक हजार चार सय ८३ जना कर्मचारी मतदान केन्द्रमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृत ढुंगानाका अनुसार हाल ८५ वडाको दुई सय ९७ मतदान केन्द्रमा दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ मतदान सहायक अधिकृत, पाँच सय ९२ जना सहायक र दुई सय ९७ सहयोगी खटिएका छन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा कुल दुई हजार तीन सय ७४ जनशक्ति खटिनेछन् । जसमध्ये आठ सय ९१ जना स्वयंसेवक हुनेछन् ।
३० वैशाखमा हुने निर्वाचनमा जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले एक सय ३६ मतदानस्थलका दुई सय ९७ मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘ती मतदानस्थलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको पनि निगरानी हुनेछ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो ।
निर्वाचनको बेला कुनै पनि अप्रिय घटना हुन नदिनलाई निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिका छुट्टाछुट्टै तीन चरणको सुरक्षा योजना बनाएको अर्यालले बताउनुभयो । सुरक्षाका हिसाबले ढुक्क भएर मतदानमा सहभागी हुन जिल्लाबासीलाई उहाँको अनुरोध छ । ‘मतदाताहरू निर्भयपूर्वक मतदान केन्द्रमा जाने वातावरण मिलाएका छौँ ।
निर्भयपूर्वक मतदान गरेर आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी ६ सय पाँच, म्यादी प्रहरी एक हजार ५५, तीन सय २४ सशस्त्र प्रहरी र चार सय २५ जना नेपाल प्रहरीबाट निर्वाचन सुरक्षाका लागि खटिएका छन् । शुक्रबार हुने निर्वाचनमा जिल्लामा चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक हजार ६ सय ३५ जना चुनावी मैदानमा छन् । देवघाट गाउँपालिकामा एकजना वडा सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्