पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि करिब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
अर्थ मन्त्री डा टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट आइतबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।
जसमा चालु खर्चतर्फ १२ अर्ब ६३ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ छुट्टाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका लागि सबैभन्दा धेरै बजेट ११ अर्ब ९८ करोड ९ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ ।
कृषि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५९ हजार, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख ९३ हजार र वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड ५० लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३९ करोड ५१ लाख ७६ हजार, स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३२ करोड ७० लाख ४० हजार र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ३ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बजेट स्रोतका रूपमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ ।
आगामी आर्थिक वर्षमा ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ उठाउने लक्ष सरकारले राखेको छ ।
चालु आर्थिक वर्षका कार्यक्रमबाट २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ बचत हुने र बजेट अपुग भएमा १ अर्ब ७५ करोड आन्तरिक ऋण लिने योजना सरकारको रहेको छ ।
बजेटले भौतिक पूर्वाधार विकास, रोजगार सृजना, आर्थिक गतिविधि वृद्धि र नागरिकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । यस पटकको बजेटमा सरकारले अधिकांश पुराना कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरू पनि समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्